नेपाल र नेपालीको आर्थिक सम्पन्नता गाँजामा छ : शेरबहादुर तामाङ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरै नेता पार्टीको गुट उपगुटमा लागि रहेका छन् । त्यो सबै काम भन्दा अलिपर हुनुहन्छ सो पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङ ।
नेकपा सरकारको कानुन मन्त्रीबाट राजिनामा दिएर तामाङ एउटा छुट्टै अभियानमा लाग्नु भएको छ । त्यो हो गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्छ भन्ने अभियान ।
प्रतिनिधि सभाका सांसद्, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तामाङले यही अभियानको सेरोफेरोमा रहेर सनराइज खबरसँग टेलिफोन संवाद गर्नुभएको छ । सोही टेलिफोन संवादको यो सम्पादित अंश :
अहिले गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्ने अभियानमा लाग्नु भएको छ, यो सोच कहाँबाट आयो ?
यो चिज हाम्रा पिता पुर्खाले आनुसन्धान गरेर पत्ता लगाएको चिज हो । विश्व मानव समुदायको हितमा गाँजालाई प्रयोग गर्न सकिन्छ । गाँजा लगायत नेपालको प्राकृतिक वातावरणमा भएका धेरै चिज विश्व समुदायको हितमा प्रयोग हुनसक्छन् ।
हाम्रो आफ्नो ज्ञानमा आधारित धेरै चिज हामीले पत्ता लगाएका छौँ । तीनै मध्ये अहिले हामीले गाँजाको कुरा गरिरहेका छौँ । गाँजा खेतीलाई नियमन र व्यवस्थापन गरौँ । यसो गर्दा नेपाली जनता र नेपाल राष्ट्रकै आर्थिक समृद्धि हुनसक्छ । त्यसैले यो अभियानमा लागेका हौँ ।
यसबाट समृद्धिका आधार चाहीँ के छन् त ?
यो त्यसै बोलिदिउँन त वा उठाइदिउँन त भनेर बोलेको वा उठाएको विषय होइन । यसको उत्पादन, यसबाट पर्ने असर, यसबाट हुने आर्थिक समृद्धि, मुलुकमा हुने आर्थिक सम्पन्नताको बारेमा निक्कै लामो अध्ययन र विष्लेषण गरेर हामीले यो कुरा गरेका छौँ ।
नेपालको गाँजाको अन्तराष्ट्रिय बजार, यसको गुणस्तर र अन्तराष्ट्रिय बजारमा यसको माग, यी सबैलाई ध्यानमा राखेर यी विषय उठाइएको हो ।
यसको लागि कानुनी जटिलता पनि त छ नि, हैन र ?
अहिले कानुनी रुपमा अड्चन छ । त्यसैले कानुनी बाटो फुकाउन संसद्मा एउटा कानुन गैह्रसरकारी विधेयकको रुपमा पेश भएको छ । संसद् बैठक नचलेको कारणले संसद्मा यसको छलफल हुन पाएको छैन । बैठक सुरु हुने बित्तिकै यसलाई छलफलमा लैजाने र पारित गराउने हाम्रो पहल र प्रयत्न जारी छ ।
यसलाई नसालु पदार्थ भनेर कुनै बेला अन्तरष्ट्रिय कानुनले प्रतिबन्धलगायो । यसलाई लागुऔषध हो भनेरे प्रतिबन्ध लगाइयो । तर यो गुणकारी औषधि हो । गाँजा जडिबुटी हो ।
अहिले विश्वका धेरै देशले यसलाई खुल्ला गर्दै गएका छन् । अन्तराष्ट्रिय रुपमा यसलाई प्रतिबन्ध लगाउन अगुवाई गर्ने अमेरिकाका ५० वटा राज्य मध्ये ४० वटा राज्यले अहिले यसलाई खुल्ला गरिसकेका छन् । उनीहरुले व्यवसायीक खेती लगाएर कमाई गर्न सुरु गरिसकेका छन् ।
गुणस्तरीयताको बारेमा चाहीँ यहाँहरुले कत्तिको अनुसन्धान गर्नुभएको छ ?
संसारमा नेपालको गाँजालाई एक नं मानिन्छ । अन्यत्र जति खेती गरेपनि, जति उत्पादन गरेपनि हाम्रो गाँजा नं १ नं हो ।
नेपालको प्राकृतिक वातावरण, यहाँको हिमाल, हावापानीको कारण गाजामा पाइने तत्वले गर्दा नेपालको गाँजाको अन्तराष्ट्रिय बजारमा नं १ को भ्यालु छ । नेपालको गाँजाको गुणस्तर संसारमै १ नं हो ।
नशाको रुपमा प्रयोग गर्यो भने त यसले नराम्रो प्रभाव पार्ला नि त ?
हामीले अहिले कानुनमा गाँजा खेती गर्न खुल्ला गर्नुपर्छ भन्दा नशाको रुपमा उपयोग गर्न यसको खेती खुल्ला गर्नुपर्छ भनेका होइनौँ ।
हामीले यसको व्यवसायीक खेती गर्ने, किसानले गरेको खेतीको सरकारले अभिलेख राख्ने, उत्पादित गाँजा सरकारले किन्ने र विदेश निर्यात गर्ने अनि त्यसको आम्दानी किसानको हातमा पुर्याउने भनेका हौँ । जथाभावि गाँजा खेती गराएर सबैलाई नशामा लट्ठ बनाउन खोजेको हैन ।
यसको आर्थिक लाभको पाटो बारे पनि विष्लेषण गरिएको छ त ?
गाँजा खेतीबाट हामीले केही वर्ष भित्रै किसानलाई लखपति हैन करोडपति बनाउने अवधारणा ल्याएका छौँ । हामी ग्यारेन्टि गर्छौँ कि, हरेक वर्ष एकदेखि दुई रोपनि जग्गामा गाँजा खेती लगाउने किसानले २५ देखि ३० लाख रुपैँयासम्म कमाउँछ । यसको लागि उसले काहीँ जानै पर्दैन ।
यसरी खेती गर्दा पाँच वर्ष भित्र हरेक किसान करोडपति हुन्छन् । नेपाली युवा अरवको खाडीमा काम गर्न जानै पर्दैन । लाखौँ नेपाली युवा आज विदेशिएका छन् । उनीहरु सबैलाई नेपालमै ल्याएर यहीँ गाँजा खेतीमा लगाउने र करोडपति बनाउने हाम्रो योजना छ ।
त्यति मात्रै हैन गाउँमै बसेर गाँजा खेती लगाउन लागेपछि उसले अन्य कृषि कर्म पनि गर्छ । त्यसो हुँदा हाम्रा जग्गा बाँझो बस्दैनन् र हामी कृषिबाटै आत्मनिर्भर बन्छौँ । गाउँमा गाँजा कुर्दा अन्य खेती पनि गर्छ र विदेशबाट आयात गरिने खरबौँको खाद्यान्नको आयात रोकिने छ । यसले नेपालको कृषिमा एउटा क्रान्तिनै ल्याउने छ ।
यसलाई सबैले चासोको रुपमा लिएका छन् । सबै सकारात्मक छन् । यद्यपि अहिलेसम्म सरकारको तर्फबाट अगाडि बढौँ भन्ने खालको कुरा आएको छैन, त्यो आउने बित्तिकै सबै कुरा अगाडि बढ्छ ।
सकारात्मक कुरा गर्दा यसको नकारात्मक पाटोको बारेमा कत्तिको अध्ययन गर्नुभएको छ ?
यसको एउटा नकारात्मक पाटो पनि छ, यसको नियमित प्रयोगले लागु औषधका दुर्व्यसनी हुन्छन् भन्ने पनि आउँछ । यसको यो नकारात्मक सन्देश हो ।
यसमा हाम्रो के कुरा हो भने हामीले कानुनमा खाने कुरालाई ओपन गरेका छैनौँ । यसमा औषधीय गुण भएकोले लागुऔषधमा प्रवेश हैन लागु औषधबाट निस्कन चाहीँ गाँजाले सहयोग पुर्याउँदछ । कसैले एकदमै कडा लागु औषध खाने गरेको छ भने डाक्टरको सिफारिसमा मात्रा मिलाएर नियमित रुपमा गाँजा खाने हो भने अरु कडा लागु औषधबाट उसले छुट्कारा पाउँछ ।
अहिलेसम्मको तथ्याङले पनि गाँजा खाएर कुनै पनि मान्छे यो रोग लागेर मर्यो भन्ने देखाएको छैन । गाँजा उडाउँदा अलिअलि नशा लाग्छ । नशाले नछाड्दासम्म केही लट्ठीएला तर अन्य लागु औषध वा अन्य कुलतमा लागेर ज्यान गुमाउने जसरी गाँजाले मानिसको ज्यान लिँदैन ।
हामीले यसको प्रयोग पर्यटन क्षेत्रमा गर्यौँभने हाम्रोमा आएका पर्यटक यसमा रमाएर धेरै दिन नेपाल बस्न सक्छन् । जसले हाम्रो आम्दानी बढाउँछ । यो भविष्यमा छलफल गरौँला तर नेपालमै गाँजा खेती गर्ने, नेपाली युवालाई गाँजामा लठ्याएर वेहोस् बनाउने गरी हामीले यो छलफल चलाएकै हैनौँ ।
गाँजामा औषधीय गुण भएकै कारणले औषधि बनाउन विश्व बजारमा गाँजाको माग छ । त्यसैले यो जडिबुटी हो ।
कुनै पनि जडिबुटी धेरै खायो भने नशा लाग्छ । ज्यानै पनि लिन्छ । त्यो कुरा बुझेर किसानले खेती गरेभने समस्या नै आउँदैन ।
क्यान्सर, लुलोलंगडो हुने, मानसिक रोग लगायतका रोगको उपचार गर्ने औषधी बनाउन गाँजाको प्रयोग हुने गरेको छ । त्यसैले पनि यसको महत्व बढेको छ ।
गाँजाबाट निस्कने एक खालको तत्व जो औषधि बनाउन प्रयोग हुन्छ, यसको विश्व औषधि बजारमा अत्यन्त ठूलो माग छ । हजारौँ टन गाँजाबाट केही ड्रम मात्र त्यो तत्व निकाल्न सकिन्छ । यही दुई⁄चार ड्रम मात्र निकालेर विश्व बजारमा पठाउन सक्यौँ भने मात्रै पनि नेपालको अर्थतन्त्रमा कायापलट गर्न सकिन्छ ।
विगतमा पनि गाउँघरमा औषधिको रुपमा गाँजाको प्रयोग हुँदै आएको हो । यसको ऐतिहासिक पृष्टभूमि चाहीँ के रहेछ ? यहाँहरुले केलाउनुभएको छ ?
ऐतिहासिक रुपमा हेर्दा यो परापूर्व कालदेखिनै औषधिको रुपमा प्रयोग हुँदै आएको जडिबुटी हो । वैदिक कालभन्दा पनि अगाडि शिव भगवानको पालादेखिनै गाँजाको प्रयोग हुँदै आएको छ ।
शिव त्यतिबेलाका विद्वान हुन् । गाँजा शिवले पत्ता लगाएको जडिबुटी हो । यो औषधी हो भनेर पहिलो पत्ता लगाउने नै शिव हुन् ।
शिव कैलाशमा बस्ने भएकोले पनि उहाँलाई जडिबुटीको धेरै ज्ञान हुनु स्वभाविक हो । त्यस बेला शिवले धेरै जडिबुटी पत्ता लगाउनुभयो । अहिले शिवकै ज्ञानबाट हाम्रो आयुर्वेद अघि बढेको छ ।
नाच र योगको प्रतिपादक शिव हो । तिनै शिवले प्रतिपादन गरेको औषधि गाँजालाई किन घृणा गर्ने, शिवलाई भगवान मान्ने अनि उहाँले पत्ता लगाएको औषधिलाई प्रतिबन्ध लगाउनु ठिक हैन ।
शिवभक्त योगीहरु कतिपय लुगा पनि लगाउँदैनन् । खान बस्नको ठेगान हुँदैन । तर उहाँहरु मात्रा मिलाएर नियमित गाँजा सेवन गर्नुहुन्छ । त्यसैले कुनै रोग लाग्दैन । गाँजा औषधि हो भन्ने कुराको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । गाँजाले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ भन्ने कुरा हिजोदेखि प्रमाणित हुँदै आएको छ ।
भनेपछि यो मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो त ?
हो, अहिले यत्रो कोरोनाको महामारी चलि रहेको छ । हामीले यो रोगलाई गाँजामा किन टेष्ट नगर्ने ?
गाँजालाई हामीले साँच्चै राम्रोसँग नियमित खान सक्यौँ र त्यसमा भएको तत्वलाई मिलाएर हाम्रो शरीरमा दिन सक्यौँ भने मानिसलाई निरोगी र रोग प्रतिरोधी बनाउँछ ।
गाँजामा भएको रोग प्रतिरोधात्मक क्षमाताले हामीले कोरोना मात्र हैन कोरोना जस्ता कयौँ रोगलाई सजिलै जित्न सक्छौँ । यसबाट हामी क्यान्सर जस्ता रोगलाई पनि निर्मुल पार्न सक्छौँ ।
काम नलाग्ने अवस्थामा पुगेको शरीरलाई पुर्नताजकी दिने शक्ति गाँजामा छ । अझ त्यो नेपालमै पाइने गाँजामा बढी छ । यसले मुलुकलाई आर्थिक रुपमा समृद्ध र निरोगी जनता बनाउन सक्छ ।
गाँजाको पातको मात्र हैन यसको बोटको रेशाबाट बुनेको लुगाको अन्तराष्ट्रिय बजारमा अति राम्रो मूल्य छ । यो अन्तराष्ट्यि बजारमा हजारौँ डलरमा बिक्री हुन्छ । यसको मागलाई हामीले धान्नै सक्दैनौँ ।
नेपालमा यसको खेतीको अवस्था चाहीँ के छ ? देशका सबै ठाउँमा हुन्छ वा निश्चित भूगोलमा ?
अहिले क्यानडा र इजरायल जस्ता मूलुकले नेपालको जस्तो वातावरणमा गाँजा उत्पादन गर्ने भनेर ग्रिन हाउस बनाएर खेती सुरु गरेका छन् । तर जति गरेपनि कृतिम रुपमा गरिने कुरा कृतिम नै हुन्छ ।
हामीसँग यस्तो हावापानी छ, जो गाँजाको लागि अति उपयोगी छ । नेपालको तराईदेखि हिमालसम्म गाँजा खेती हुन्छ । गुणस्तरको हिसावले केही फरक हुन्छ । हिमालको एकदमै गुणस्तरीय उत्पादन हुन्छ ।
अहिले पनि बारा, पर्सा, रौतहट जस्ता तराइका जिल्ला पनि गाँजा उत्पादन भइरहेको छ । तराईमा चरेशको तत्वसँग जोडिएको गाँजा पाइन्छ, हिमाल तर्फ अघि बढ्दै जाँदा गाँजाको गुणस्तर पनि बढ्दै जान्छ । यसको बोक्राको रेसाको गुणस्तरमा भने हिमाल वा तराई केही फरक पर्दैन ।
तर पनि यसले समाजलाई बिगार्छ भन्ने कोणबाट आलोचना त भइरहेको छ नि हैन र ?
बढी खाँदा सबै चिजले नोक्सान गराउँछ । मात्रा मिलाएर खनुस्, सबै चिज औषधि हो । अहिले पनि कतिपय औषधि नशाको रुपमा खाने पनि त छन् नि । बिग्रन चाहनेलाई जे जति रोके पनि रोक्न सकिदैन ।
गाँजा दुव्र्यसनको रुपमा प्रयोग गरिने चिज हैन । अलिअलि गाँजा खाएर कोही दुव्र्यसनी बनेका छैनन् । बरु यसको प्रयोगले मानिसले आनन्द लिन्छ । फ्रेस भएपछि स्मणशक्ति अझ बढ्छ ।
जतिबेला वैदिककालमा पूर्वीयदर्शन निर्माण भए । ती विद्वानहरु सबै नियमित रुपमा गाँजा सेवन गर्दथे । जसले उनीहरुलाई त्यति ठूलो ज्ञानको भण्डार दियो । अनि कसरी गाँजा खाएर मानिस बिग्रन्छ भन्न मिल्छ ? यसले शरीरलाई तागत दिन्छ ।
हामी हाम्रै प्राकृतिक श्रोत र जडिबुटीबाट धनी हुनसक्थ्यौँ । तर विदेशीले हाम्रा यी स्रोत माथि प्रतिबन्ध लगाउने गरी कानुन बनाएर हामीलाई शोषण गरे । हाम्रो ज्ञान, विज्ञान र कला सबै कुरा मारिदिएर हामीलाई परनिर्भर बनाए ।
अब यी सबैकुरालाई तोडेर विश्वको सबैभन्दा धनी मुलुक बनाउने गरी गाँजामा लाग्नु पर्छ । हामीसँग धेरै आधार छन् । यसको प्रारम्भिक आधार चाहीँ गाँजा नै हो । किनकि यो लगाएको तीन चार महिनाबाटै आम्दानी हुन सुरु भै हाल्छ ।
यहाँहरु अभियानमा लागि रहनुभएको छ , अब नेपालीले गाँजा खेती सुरु गर्न कति समय पर्खनु पर्ला ?
जति छिटो गर्यो त्यती छिटो नेपाली नागरिक धनि हुने हो । त्यसैले जति छिटो खुला गर्यो त्यति राम्रो हो ।
हामीले कार्यकारी ठाउँमा भनिरहेका छौँ । उनीहरुले टेरेनन् भने भन्न बाध्य हुनुपर्ने छ कि, तिमीहरु कतै दलाल पूँजीपतिको कब्जामा त छैनौ ? त्यतिबेला लाखौँ नेपाली नागरिक सडकमा आउनुपर्ने अवस्था पनि आउनसक्छ ।
अन्य कुनै मुलुकको उदाहरण दिएर सरकारमा रहने कसैले गाँजा खुल्ला गर्यो भने नियन्त्रण गर्न सकिदैन भन्छ भने उसले सरकार छाडिदिनु पर्छ । नियन्त्रण गर्न सक्नेले चलाउँछ । तर अब गाँजाको अभियान अघि बढ्यो बढ्यो । अब कसैले रोकेर रोकिदैन ।
गाँजाले देशको अर्थतन्त्रको जग बस्छ । पुर्वपश्चिम रेलमार्ग यसैले बन्छ । तिम्रो एमसीसी चाहिँदैन, हामी आफै गर्छौँ भन्न सक्छौँ, सुरुङ मार्ग बनाउन सक्छौँ, ठूला ठूला आयोजना चलाउन सक्छौँ । यसको लागि धेरै पर्खनै पर्दैन । पाँच वर्ष भित्र हामी विश्वकै नमुना राष्ट्र बन्छौँ ।
यस बाहेक रक्तचन्दको खेती सुरु गर्यौँ भने हामीले १० वर्ष भित्र हरेक नेपालीको हातमा १०⁄१५ करोड रुपैँया पुर्याउन सक्छौँ । अब यसरी लाग्नु पर्छ । अब जनवादको भाषण गरेर अघि बढिँदैन काम नै गरेर अघि बढ्नुपर्छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस