• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बल्लबल्ल स्थिर सरकार पाएका छौं, यो सरकारलाई ९५ अंक दिन्छु (भिडियाेसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ‘पाँच वर्षका लागि सरकारले नीति तथा कार्यक्रम बनाइरहेको छ, पहिले यस्तो हुँदैनथ्यो, अस्थायी सरकार हुने भएकाले अस्थायी नीति हुन्थ्यो’ अजयकुमार मुडभरी भन्छन् ।

नेपाल थाइ चेम्बर अफ कमर्सका अध्यक्ष अजयकुमार भन्छन्– ‘सरकारले पाँच वर्ष काम गर्दा पक्कै पनि राम्रो काम गर्नेछ, त्यसैले आशावादी हुने ठाउँ छ । जनता आशावादी छन् ।’

वर्तमान सरकारको कामको मूल्याङकन गर्दै उनले लामो समयपछि बनेको स्थिर सरकारले राम्रो काम गर्छ भन्नेमा आफू आशावादी रहेको बताएका हुन् ।

‘सरकारले पूर्वाधारमा जोड दिएको देखिन्छ, रेलमार्ग, राजमार्ग, उत्तर दक्षिण मार्ग, भएका राजमार्ग विस्तार र चौडा पार्ने काम हेर्दा सरकारले केही गर्छ भन्ने देखिँदैछ’ सनराइज खबरले चलाइरहेको ‘यो सरकार कस्तो लाग्दैछ ?’ सृङखलामा अनुपम शर्मिलासँग कुरा गर्दै उनले भने– ‘सरकारले उद्योगमा जोड दिएको छ, अहिले आएको बजेटमा पनि त्यही देखिन्छ ।’

‘यसअघि आठ नौ महिनामा सरकार परिवर्तन हुने स्थिति थियो । विकासका काम अस्तव्यस्त थिए । सत्ता धान्ने काम मात्र भएको थियो । धेरै वर्षपछि स्थिर सरकार पाएका छौँ । यसले राम्रो काम गर्छ भन्ने विश्वास छ । आशावादी छौँ’ – अजयले भने ।

सरकारले यहि रफ्तारमा काम गर्दै गए तीव्र विकास र समृद्धि हासिल गर्न सक्ने भन्दै उनले सरकारलाई एक सयमा ९५ अंक दिन्छु भने ।

तपाईंले दिएको अंकमा आम जनता सहमत होलान त भन्ने प्रश्नमा उनले भने– ‘म सकारात्मक सोच्ने मान्छे । हामी आशावादी हुनुपर्छ । तपाईं निराशावादी भएर सरकारलाई ३० अंक दिनुहोला । फेल गराउनु होला । तर, बल्लबल्ल स्थिर सरकार आएको छ भने यसलाई काम गर्ने मौका दिनुपर्छ । मैले दिएको अंकमा धेरै जनता सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका अजयले  अहिले आएको बजेटबाट उद्योगहरु बीच प्रतिष्पर्धी बातावरण बन्ने र आयात पनि प्रतिस्थापनमा योगदान हुने बताए ।

प्रतिकृया दिनुहोस