पीडा लुकाएर हाँस्ने गाउँपालिका अध्यक्ष
काठमाडौं । ‘रोएर कराएर केही हुने रहेनछ, आखिर पीडा लुकाएर पनि हाँस्नुपर्ने रहेछ’ – पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो ।
गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएकालाई व्यवस्थापन गर्न नपाउनुको पीडा सनराइज खबरसँग सुनाउँदै उहाँले भन्नुभयो – ‘धेरै पीडा भयो भने मानिस कि हाँस्छ कि रुन्छ भन्थे हो रहेछ, तर म हाँसेको छु, मै रोएँ भने यो सबै व्यवस्थापन कसरी होला ?’
भारतबाट आएर गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ९३ जनामा बिहीबार बिहान संक्रमण पुष्टि भएपछि निकै चुनौती थपिएको अध्यक्ष सारुले बताउनुभयो ।
पाल्पाकै विकट गाउँपालिका निस्दीमा अहिलेसम्म बिजुली नअाएकाे र भर्खर काम हुन थालेकाे बताउँदै अध्यक्ष सारुले भन्नुभयाे - 'न बिजुली छ, न अाइसाेलेशन छ, त्यसमाथि पानी र पहिराेले तनाव दिएकाे छ ।'
पानी र पहिरोका कारण बाटो अवरुद्ध रहेकाले गाउँपालिकाका सबै क्वारेन्टिनमा पुग्न निकै सास्ती भएको उहाँले सुनाउनुभयो । अध्यक्ष सारुका अनुसार गाउँपालिकाका ७ वटै वडामा क्वारेन्टिन बनाइएको छ ।
‘लगातार परेको पानीका कारण ठाउँ ठाउँमा गएको पहिरोले बाटो अवरुद्ध छ, गाडी चल्दैन, सबै ठाउँमा पैदलै हिँड्न असम्भव छ, फोनकै भरमा काम गर्नुपर्ने वाध्यता छ’ – सारुले भन्नुभयो ।
गाउँमा बिजुली नभएको र घाम नलागेर सोलारले पनि राम्रो काम नगरेको बताउँदै अध्यक्ष सारुले भन्नुभयो – ‘सोलारले काम नगरेपछि इन्टरनेट पनि चलेको छैन, फोनकै भरमा सबै संक्रमितको विवरण टिपेँ ।’
व्यवस्थापनको पीडाले तनाव भएका बेला संक्रमण पुष्टि भएकाले अझ अप्ठेरोमा पारेको सारुको गुनासो छ । कोरोना पोजेटिभ भएपनि लक्षण नदेखिएका उनीहरुले रोग लागेकै छैन भनेर जिद्धि गरेका मुक्त बहादुरले बताउनुभयो ।
‘धेरैजसो संक्रमितले त हामीलाई केही भएकै छैन, रिर्पोट निकाल्ने मानिसले जानेनन् भन्छन्, अब हासौं कि रोउँ ?’– उहाँले प्रश्न गर्नुभयो । उनीहरुमा कोरोनाबारे चेतनाको कमी रहेको भन्दै मुक्तबहादुरले संक्रमितबाट अलिकति पनि लापरवाही भए जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गर्नुभयाे ।
तत्काललाई संक्रमित र संक्रमण नदेखिएकाहरुलाई छुट्याएर क्वारेन्टिनमा राखिएको बताउँदै सारुले भन्नुभयो – ‘पहिरो पन्छाएर बाटो बनाउँदैछौं, आज भोलिमै आइसोलेशन बनाएर संक्रमितलाई राख्छौं, बाहिर लैजान पालिकाको क्षमताले भ्याउँदैन ।’
क्वारेन्टिनमा बसेकामध्ये २ सय ५० जनाको थ्रोट स्वाब पठाइएकोमा ९३ जनाको पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । १६ जनाको रिपाेर्ट भने छुटेको सारुले बताउनुभयाे ।
अझै धेरै जनाको परीक्षण गर्न बाँकी रहेकाले संक्रमित बढ्ने सक्ने भन्दै अध्यक्ष सारुले कोरोनासँग जुध्नुको विकल्प नरहेको बताउनुभयो ।
गाडीवालाहरुले मानिस बोक्न अानाकानी गरेकाे गुनासाे सनराइज खबरलाई फाेनमा सुनाउँदै सारुले भन्नुभयो – ‘क्वारेन्टिनमा लैजाने मानिस बोक्ने नमान्ने गाडीहरुले संक्रमित बोक्न मान्छन कि मान्दैनन्, आइसोलेशनसम्म कसरी ल्याउने भन्ने चिन्ता पनि छ ।’
सुरुमा भारत लगायत मुलुकबाट आएकालाई क्वारेन्टिनमा राख्दा स्थानीयले अवरोध गरेका बताउँदै सारुले भन्नुभयो – ‘उहाँहरु हाम्रै गाउँबासी हो, विपद्माअमानवीय व्यवहार गर्नुहुँदैन भनेर बल्लतल्ल सम्झाएर राखेको हूँ, संक्रमण नै पुष्टि भएपछि गाउँले ठुस्स परेका छन् ।’
क्वारेन्टिनमा बसेकाकाे व्यवस्थापन गर्दा निकै खर्च बढेकाे बताउँदै उहाँले योजनाको पैसा कटौती गरेर भएपनि गाउँवासीहरुकाे स्वास्थ्य जाेखिममा पर्न नदिने बताउनुभयाे ।
अध्यक्ष सारुका अनुसार लकडाउनमा अलपत्र परेकाहरुलाई पालिकाले गाडी पठाएर उद्धार गरेकाे थियाे । लकडाउन प्रभावितलाई पनि राहत वितरण गरेकाे थियाे ।
गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले पनि काेराेना विरुद्ध लड्न निकै सास्ती खेप्नु परेकाे सुनाउनुभयाे । काेराेनामाथि प्राकृतिक विपत्ति थपिएकाले सास्ती भएकाे उहाँकाे भनाइ छ ।
उहाँका अनुसार गाउँपालिकामा अहिलेसम्म बिजुली बत्ति पुगेकाे छैन । एउटा वडामा भर्खर काम हुँदैछ । त्याे पनि काेराेनाका कारण अवरुद्ध छ । केही ठाउँमा लघुजलविद्युत र केही ठाउँमा साेलारकाे भरमा काम छ । त्याे पनि सबै ठाउँमा छैन ।
'असार सुरु भएपछि पानी र पहिराे सुरु भयाे , लगत्तै संक्रमित भेटिए, यसले व्यवस्थापन गर्न समस्या भएकाे छ'- गीता भन्नुहुन्छ ।'
नीति तथा कार्यक्रम कोरोना केन्द्रित
गाउँपालिकाले नीति तथा कार्यक्रममा मानिसहरुको स्वास्थ्यलाई जोखिमबाट जोगाउन विशेष कार्यक्रम ल्याइएको अध्यक्ष सारुले बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
'हाम्राे पहिलाे प्राथमिकता जनतालाई महामारीबाट बचाउने हाे, त्यसपछि मात्र विकासबारे साेँच्ने हाे' - सारुले भन्नुभयाे ।
भारत लगायत तेस्रो मुलुकबाट राेजगारी गुमाएर फर्किएकाहरुलाई ध्यान दिँदै गाउँमै रोजगारी दिने कार्यक्रमहरु तय गरिएको उहाँले बताउनुभयो । सारुका अनुसार कृषि र पशुपालनमार्फत युवाहरुलाई रोजगारीमा दिनेगरी कार्यक्रम राखिएको छ ।
बालविवाह राेक्न २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कार्यक्रम पनि समेटिएकाे । शिक्षालाई पनि प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएकाे सारुले जानकारी दिनुभयाे ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस