• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सीमा नाकाबाट अ‌ाउने नेपाली जागे, भारतसँग प्रतिवाद गर्न थाले

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । लकडाउन सुरु भएपछि सीमा नाकाबाट स्वदेश फर्कने क्रममा धेरै नेपालीलाई भारतीय पक्षले निकै दु:ख दियाे । अमानवीय व्यवहार गर्‍याे ।

मात‍ृभूमि टेक्न केही समय बाँकी छँदा नेपालीलाई फर्काएर भारततर्फ नै लगेर दुई-तीन दिन राख्‍याे ।

नेपालविरुद्ध अनेक प्रचार गरेर त्यहाँका विद्यालयमा नेपालीलाई भेडा बाख्रा जस्तै काेच्‍याे । धेरै नेपालीले भारतकाे याे व्यवहार सहे । विभिन्‍न ठाउँबाट भेला भएका नेपालीलाई एकैठाउँमा हूलमूल गराएर नेपालमा काेराेना फैलाउन भारतीय पक्षले कुनै कसर बाँकी राखेन ।

तर, अहिले सीमा नाकाबाट स्वदेश भित्रने नेपाली जागेका छन् । उनीहरुले खबरदारी गर्न थालेका छन् ।

'भारतले दुख दिन्‍छ भन्‍ने थाहा पाइसकेका छन् हाम्रा छाेराछाेरीले, अहिले भारतीयकाे प्रतिवाद गर्न थालेका छन्' - बाँकेकाे जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले सनराइज खबरलाई सुनाउनुभयाे ।

सीमा नाका हुँदै गाउँपालिकामा अ‌ाएका स्‍थानीयलाई भारतले कस्ताे व्यवहार गर्छ ? के भन्‍छन‍् नेपालीले ? भन्‍ने प्रश्‍नमा यादवले त्‍यसाे भन्‍नुभएकाे हाे ।

क्वारेन्टाइनमा बसेकाहरुको भनाइ उद‍ृद गर्दै उहाँले भन्नुभयो– ‘सुरुमा आएकाहरुलाई नाकामा रोकेर केरकार गर्ने गरेको थियो, कतिलाई दुई - तीन दिन उतै राख्‍याे, अहिले नेपालीहरु भारतले दुख दिन्छ भन्ने कुरा बुझिसके भारतीयकाे प्रतिकार गरेर आउँछन् ।’

समूहमा अ‌ाउनेले प्रतिकार गरेपनि एक दुई जना अ‌ाउनेलाई भने अहिले पनि दु:ख दिने गरेकाे उहाँले बताउनुभयाे । सीमामा बस्ने नेपालीलाई भारतले पहिलेदेखि नै दुख दिने गरेकाे सुनाउँदै उहाँले भन्‍नुभयाे- 'अहिले अझ दुख दिन्छ भन्‍ने सुनेकाे छू ।'

संक्रमितकाे व्‍यवस्थापनमा समस्‍या

देशभर कोरोना संक्रमितको संख्या बढीरहेको थियो । जानकी गाउँपालिकाका स्थानीय पनि भारतबाट आएर क्वारेन्टाइनमा बसे । पीसीआरबाट परीक्षण गर्न गाउँपालिकाले स्वाब संकलन गरेर पठाइएपनि रिर्पोट आएको थिएन ।

तर, मनै झस्काउनेगरी ठूलो संख्यामा संक्रमित भेटिएको खबर आएपछि सबै जना त्रसित भए ।  ‘जब एकैपटक ४० जनामा संक्रमण देखिएको खबर आयो, तब एकछिन केही सोँच्न सकिनँ’– अध्यक्ष यादवले भन्नुभयो ।

क्वारेन्टाइनमा रहेका ४० जनामा एकैपटक संक्रमण पुष्टि हुँदा निकै आत्तिएको यादवले सनराइज खबरसँग फोनमार्फत सुनाउनुभयो । १ सय २३ जनाको थ्राेट स्वाब परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएकोमा ४० जनामा संक्रमण देखिएको यादवले सुनाउनुभयो ।

संक्रमितलाई भेरी अस्पताल र खजुरा गाउँपालिकास्थित अस्पतालले लिन नमानेपछि गाउँमै आइसोलेशन बनाएर राखिएको छ । ‘अस्पतालले यता नपठाउ भने, के गर्नु जसरी भएपनि बचाउनुर्‍याे, त्यसैले क्वारेन्टाइलाई आइसोलेशन बनाएर राखेका छौं’ – यादवले भन्नुभयो ।

स्थानीयले समेत संक्रमितलाई यहाँ राख्नुहुँदैन भनेर विरोध गरेपछि निकै तनाव भएको सुनाउँदै यादवले भन्नुभयो – ‘संक्रमित सबै हाम्रै बालबच्चा हुन्, उनीहरुलाई कहाँ पठाउने ? अस्पतालले नपाठाउनु भनेर तर्किए, गाउँलेले राख्न पाइँदैन चर्किए तर हामीले सम्झाइ बुझाइ गरेर राखेका छौँ ।’

अध्यक्ष यादवका अनुसार संक्रमित सबै वडा नम्बर १ का हुन् । उनीहरु सबै मुम्बई र गुजरातबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । 

उनीहरुलाई साईगाउँस्थित क्वारेन्टाइनलाई आइसोलेशन बनाएर राखिएको छ । त्यहाँ स्थानीय स्वास्थ्यकर्मी र नेपालगञ्जबाट डाक्टर आउने भनेर राखिएको उहाँले बताउनुभयो ।

भारतबाट आएकाहरुलाई साईगाउँ, शिवपुरी, बढैया लगायत चार वटा क्वारेन्टायनमा राखिएको यादवले जानकारी दिनुभयो । सकेसम्म क्वारेन्टाइनमा बसेका सबैको पीसीआरबाट परीक्षण गराउने लक्ष्य रहेपनि पूरा गर्न भने गाह्रो निकै गाह्राे रहेको उहाँले सुनाउनुभयो । 

एकैपटक ४० जना संक्रमित भेटिँदा व्यवस्थापनमा समस्या परेको पनि उहाँले गुनासो गर्नुभयो । क्वारेन्टाइनमा भारतबाट आएर बसेकाहरु भएकाले संक्रमित थपिने चिन्ताले सताएको उहाँले सुनाउनुभयो ।

भारतसँग सीमा जाेडिएकाे गाउँपालिका भएकाले दैनिक स्वदेश भित्रनेकाे संख्‍या बढेकाे बताउँदै उहाँले क्वारेन्‍टाइनमा बस्नेहरुकाे खाना र बस्ने व्यवस्था गर्न निकै समस्या परेकाे सुनाउनुभयाे ।

प्रतिकृया दिनुहोस