'चीन समर्थक भन्दै नेपालीलाई दुर्ब्यवहार गरिन्छ भारतमा'
काठमाडौं । ‘भारतमा गत ५–६ वर्षदेखि बस्दा महिनाको २० हजार भारु कमाउथें । तर अब म भन्छु– नेपालमै १० हजारको जागिर पाए म भारत फर्किएर जादिँन’- दीपक जोशीकाे भनाई हाे याे ।
कोरोना महामारीकामा भारतको असली रुप देखेर अतालिनुभएका २७ वर्षीय दिपकको आगामी योजना नेपालमा नै बसेर जीविकोपार्जन गर्ने छ ।
भारतको हरियाणास्थित एक गेष्ट हाउसमा म्यानेजरको रुपमा काम गर्नुहुन्थ्याे दीपक । 'अब काम गर्न भारत जान्न'- दीपककाे भनाई छ । आखिर किन यस्तो सोच आयो त ?
सनराइज खबरसँगको कुराकानीमा दीपकले भन्नुभयो – ‘जस्तो व्यवहार यो समयमा भारतले देखाएको छ, शायद अब नेपाल फर्कने नागरिकहरु काेही पनि फर्केर भारत जाँदैनन् हाेला । यही हो पाठ सिक्ने समय । देशलाई माया गर्ने समय ।’
कोरोनाका कारण यसै त कठिनाई भोगिरहेको अवस्थामा सीमा विवादका कारण भारतमा रहेका नेपालीहरुको अवस्था दर्दनाक भएको उहाँ बताउनुहुन्छ । भारतमा नेपालीहरुलाई ‘चिनियाँ समर्थक’ को संज्ञा दिइएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘नेपालीहरु त देख्न नै हुन्न, चिनियाँ समर्थक आए भनेर हेप्छन् । गाह्राे छ अहिले भारतमा भएका नेपालीहरुलाई । ’
कोरोनासँग सारा विश्व जुधिरहेको बेला सीमा विवादका कारण भारतले गरेको अमानवीय व्यवहारसँग समेत प्रत्यक्ष जुधेर नेपाल भित्रिएको दिपक बताउँछन् । ज्वरो आएर मेडिकल जाँदा, आवश्यक सामाग्री किन्न जादाँ समेत नेपाली भनेर थाहाँ हुना साथ वास्ता नै नगर्ने गरेको उहाँले बताउनुभयो ।
सनराइज खबरसँग दुखेसाे पोख्दै दिपकले भन्नुभयो – ‘अब नेपालीहरु आनन्दका साथ भारतमा बस्न सक्ने अवस्था छैन । त्यहाँ रहेका सबै नेपालीलाई अब जसरी भए पनि स्वदेश फर्काउनुपर्छ ।’
भारतको स्थानीय तहमा नै त्यस किसिमको यातना भोगेर आएका नेपाली नागरिकहरुलाई सीमामा पुग्दा पनि गाह्राे छ । गौरीफन्टा नाकामा भाेग्नुपरेकाे घटना स्मरण गर्दै उहाँ भन्नुहुन्छ– ‘पानी समेत दिएनन् पिउन । बिहानको ७ बजेदेिख दिउँसो १/२ बजेसम्म हामीलाई भारतीय सुरक्षाकर्मीहरुले घाममा उभ्याए । तर एक घुड्को पानी समेत दिएनन् ।’
पानी पिउन नपाएका कारण एक ६५ वर्षीय वृद्ध बेहोश भएको सुनाउँदै उहाँले थप्नुभयो– ‘मैले ती मानिसको सहयोग गर्न चाहें । तर भारतीय सुरक्षाकर्मीले तलाई के को मतलव भन्दै मलाई लट्ठीले हानेर खेदे ।’ यी सबै कुराहरुले गर्दा पनि भारत फर्किएर नै नजाउँ भएको उहाँ बताउनुहुन्छ ।
भारतमा अलपत्र परेका नेपालीहरुका लागि के गर्ने ?
गौरिफन्टामा नेपाली नागरिक हजारौं संख्यामा उपस्थिति भएकाे र संक्रमणको जोखिमलाई मध्यनगर गर्ने हो भने नाका नै बन्द गर्नुपर्ने उहाँ बताउनुहुन्छ । भारतको महाराष्ट्र, हरियाणा, दिल्ली, यूपी लगायत स्थानबाट नेपालीहरु बढी आउने हुँदा संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो ।
भारतको सबै भन्दा बढी संक्रमित रहेका स्थानहरुमा नै नेपाली नागरिक बस्दै आएको हुँदा ती नागरिकहरु एकैपटक नाकामा मिसिँदा संक्रमणको जोखिम उच्च हुने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ –‘लकडाउनका कारण परम्परागत जात्राहरु रोकिए पनि, कोरोनाका कारण अर्को जात्रा सुरु भएको छ। त्यो जात्रामा को कति बेला थला पर्छन् भन्न सकिन्न ।’
भारतीय सरकारसँगको समन्वयमा भारतीय स्थानीय तहमा नै गएर नेपाली नागरिकहरु ल्याउन सके उचित व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ । बस सेवा सुचारु गरेर छुट्टाछुटै स्थानबाट नेपाल ल्याउन पाए सजह हुने उहाँ बताउनुहुन्छ ।
लकडाउन लगत्तै भारतमा ज्यालामजदूरी गरेर रहँदै आएका नेपालीहरुको झनै बिजोग भएको दिपकले बताउनुभयो । पैसा तिरेरे नाकासम्म आउन समेत सक्ने अवस्था नभएकाले भारतमा नेपालीहरुको बिजोग भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।
नेपाल आइसकेपछिको अनुभव
जेठ १३ मा नेपाल भित्रिनुभयाे दीपक । नेपाल भित्रिए पनि आफ्नो घर भने पुग्नुभएकाे छैन । सरकारले तोकेको मापदण्ड अनुसार हाल आफ्नो दशरथ चन्द नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेको उहाँले जानकारी दिनुभयो ।
लकडाउनका कारण कोठा भाडा तिर्न, एक छाक खाना खान समेत धौधौ परेको अवस्थामा नेपाल आइपुग्दा आनन्दको अनुभूति भएको उहाँले बताउनुभयो । नेपाल फर्कन समेत घरबाट पैसा मगाएर आएको नमिठो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ – ‘अब क्वारेन्टाइनको अवधी पूरा गरेर परिवारसँग भेट्न आतुर छु ।’
'मातृभूमि टेक्दाकाे अानन्द नै बेग्लै भयाे'- दीपकले भन्नुभयाे ।
दिपकले क्वारेन्टाइनमा भोगेका समस्या
घर फर्कन पाउँदा एकदमै खुशी हुनुहुन्छ तर चिन्ता पनि उत्तिनै छ । त्यसको कारण हो, क्वारेन्टाइनको उचित व्यवस्थापन हुन नसक्नु ।
भारतबाट संक्रमणबाट बच्न अनेक उपाय अपनाउँदै नेपाल छिरेका उनलाई क्वारेन्टाइन बाटै संक्रमण फैलने डर छ। किनकि उहाँ हाल बसिरहेको क्वारेन्टाइनमा हिजो आएका पनि सँगै, एक हप्ता अगाडि आएका पनि सँगै, १० दिन अघि आएका पनि सँगै छन् ।
नगरपालिकाले नगरकै एक विद्यालयमा उहाँहरुलाई बस्नु भनेको छ । तर हाल ४२ जना रहेको त्यस क्वारेन्टाइनमा बत्तीको समेत सुविधा छैन ।
क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्ना वडाका अध्यक्ष हरिशचन्द्र जोशीसँग सम्पर्क गर्दा ‘मैले गाउँ फर्किनुस् भनेर निम्तो गरेको होइन । मेयर र उपमेयरसँग कुरा गर्नु’ भनेकाे दीपकले सनराइज खबरलाई सुनाउनुभयाे ।
आफूले अहिले घरबाट कम्मलहरु ल्याएर व्यवस्थापन गरेपनि सँगै बस्नेहरुको अवस्था हेर्न नसकेको उहाँले बताउनुभयो । क्वारेन्टाइनका चर्किएका चार दिवारबाट राति सर्पले आएर डस्ला भन्ने डरले सुत्न समेत नसकेको उहाँ बताउनुहुन्छ ।
त्यस नगरमा ५०० भन्दा बढी घर धुरी भएका कारण स्थानीयसँग सहयोग लिनको लागि नगरका उपप्रमुख मीना चन्दलाई सुझाव दिइएको समते दिपकले बताउनुभयो । हरेक घरका कम्तीमा एक जना रोजगारीका लागि भारत गएका कारण उनीहरु फर्किएपछि व्यवस्थापनमा अझै असहज हुने भन्दै त्यस्तो सुझाव दिएको समेत उहाँले बताउनुभयो ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस