• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मच्छेगाउँकी कोरोना संक्रमितसँगै काठमाडौं आएका थिए ८ यात्रु 

अस्मिता क्षेत्री

अस्मिता क्षेत्री

काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाँउकी ३३ वर्षीया संक्रमित कञ्चनपुरबाट काठमाडौं आएकी थिइन् । 

७ चैतमा कञ्चनपुर गएकी उनी वैशाख २९ मा काठमाडौं आइन् । दुई बालबच्चासँगै उनी आएको गाडीमा अरु ८ जना सवार रहेको थाहा भएको छ । 

उनीहरु निजी गाडीमा कञ्चनपुरबाट काठमाडौं आएका थिए । 

चन्दागिरि–९ का अध्यक्ष देवेन्द्र महर्जनका अनुसार ३३ बर्षीया संक्रमितसँगै आएका दुई बच्चामा संक्रमण देखिएको छैन् । 

कन्ट्याक्ट ट्रेसिङ गरेर उनीसँग  एउटै गाडीमा सवार सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने छ । संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिने छ । 

लकडाउन सुरु हुनुअघि जेठाजुको छोराको ब्रतवन्धमा सहभागी हुन उनी कञ्चनपुर गएकी थिइन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया उनको स्थायी घर हो । 

कञ्चनपुरको लामो बसोबास पछि फर्केकी उनलाई काठमाडौं आउनासाथ कोरोना परीक्षण गरिएको वडा अध्यक्ष देवेन्द्रले बताए । 

शसस्त्र प्रहरी कनेक्सन 

संक्रमितका श्रीमान् शसस्त्र प्रहरी हुन् । उनी एपिएफ अस्पताल हलचोकमा कार्यरत रहेको बताइएको छ । 

उनको श्रीमानमा संक्रमणका केही लक्षणहरु नदेखिएको अध्यक्ष महर्जनले दाबी गरेका छन् । यद्यपी परीक्षण गर्न बाँकी छ । उनी मंगलबारसम्म कार्यलय गइरहेका थिए । उनको सम्पर्कमा आएकाहरुको समेत कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षण गरिने चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।

मंगलबार साँझ नै पूर्व गृहमन्त्री भीम रावलको सुरक्षा टिममा कार्यरत एक शसस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । यी दुई घट्नाले शसस्त्र प्रहरीसँग कोरोना कनेक्सन जोडिएको छ । 

संक्रमितका श्रीमानलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ । 

धाक्सीमा कडाई

संक्रमण देखिएपछि चन्द्रगिरि–९ र १० नम्बर वडामा कडाइ गरिएको छ । संक्रमित बसेको ठाउँ धाक्सीमा थप कडाइ गरिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । 

उनका अनुसार संक्रमित व्यक्ति बस्ने छिमेकका चारवटा घरमा थप कडाइ गरिएको छ । प्रवक्ता महर्जनका अनुसार चन्द्रागिरि नगरपालिकामा लकडाउनमा थप कडाइ गरिएकाे छ । 

संक्रमित महिलाको सम्पर्कमा रहेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० स्थित सिसैयामा बस्ने उनको परिवारका सदस्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष केशव रावलले सनराइज खबरलाई बताए ।

उनका अुनसार स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमित बसेको घरको परीक्षण गरेको छ । त्यहाँ संक्रमितको सम्पर्कमा आएका सबैको बिहीबार नै कोरोना परीक्षण गर्ने तयारी थालिएको उनले जानकारी  दिए । 

कञ्चनपुरबाट गएकी महिलामा कोरोना संक्रमण देखिएपछि लकडाउन कडा पारिएको उनले बताए । सो वडामा हालसम्म ७१ जनाको आरडीटी टेष्ट गरिएको छ । सवैको रिपोर्ट नेगेटिभ छ । 

प्रतिकृया दिनुहोस