• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राेल्‍पामा बम विस्फाेट - निधन भएका चारै जनाकाे सनाखत

सनराइज खबर

सनराइज खबर

रोल्पा ।  रोल्पामा भएको बेवारिसे बम विस्फोटनमा परी ज्यान गुमाउने चार बालबालिकाको सनाखत भएको छ । 

त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा बिहीबार अपराह्न भएको थियाे । विस्फोटमा परेर सोही गाउँपालिकाका पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्रीकाे निधन भएकाे हाे ।

विस्फाेटमा परेर वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली पनि निधन भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गाउँदेखि केही टाढा खोला नजिक गाईबाख्रा चराउन गएका बेला विस्फोट परेर उनीहरुको निधन भएको गुरुङले बताए । गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीय घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । 

घटनास्थलमा अर्को बम पनि रहेकाले निश्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नम्बर २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए । 

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल लागेकाे छ । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी भयो भन्ने सबै जानकारी आइनसकेको समेत उनले बताए ।

– रासस
 

प्रतिकृया दिनुहोस