उपत्यकामा आज विभिन्न राजनीतिक तथा नागरिक कार्यक्रम, सुरक्षा निगरानी बढाइने
काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक दल, नागरिक समूह, पीडित परिवार तथा सरोकारवाला संस्थाले विरोध, धर्ना, प्रदर्शन, सभा तथा पत्रकार सम्मेलन गर्ने भएका छन्। बिहानैदेखि सुरु हुने कार्यक्रमका कारण उपत्यकाका विभिन्न स्थानमा सुरक्षा निगरानी र सवारी आवागमन प्रभावित हुन सक्ने देखिएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ नम्बर वडा कमिटी, नेकपा (एमाले)ले बिहान ७ः३० बजे गुण्डुस्थित आगलागी भएको महेश बस्नेतको घरको प्राङ्गणमा ‘राष्ट्र बचाऔँ, राष्ट्रिय स्वाभिमान जोगाऔँ’ भन्ने नारासहित विरोध तथा भण्डाफोर कार्यक्रम गर्ने जनाएको छ।
त्यसैगरी, शाही युवा शक्ति नेपालले बिहान ८ बजेबाट राजाको तेस्रोपटक गद्दी आरोहणको मागसहित देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने कार्यक्रम राखेको छ।
बिहान ९ बजे नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानो संसद् भवनमा Gen-Z शहीद परिवार कल्याणकारी समाज र घाइते Gen-Z नेपालको संयुक्त आयोजनामा ‘Gen-Z आन्दोलन २०८२’ को एक वर्ष पुगेको अवसरमा ‘Gen-Z स्मृति दिवस’ कार्यक्रम हुँदैछ।
सिंहदरबारमा बिहान ९ः३० बजे अर्थ समितिको बैठक तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने कार्यसूची छ।
यसैबीच, तिलगंगा क्षेत्रको बस्ती हटाइएको विषयलाई लिएर स्थानीय बासिन्दाले बिहान ११ बजे पशुपति क्षेत्र विकास कोषको कार्यालय, गौशालास्थित मुख्य गेटबाहिर धर्ना दिने भएका छन्। कोषसँग भएको सम्झौताविपरीत आफूहरूको घर हटाइएको उनीहरूको आरोप छ।
ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा बिहान ११ बजे गृहमन्त्री सुदन गुरुङको प्रमुख आतिथ्यतामा Gen-Z सहित पार्क उद्घाटन कार्यक्रम हुने बताइएको छ।
भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले दिउँसो १ बजे राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा ‘राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्दैछ। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहनेछ।
संघीय संसद्का दुवै सदनका बैठक पनि आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा तथा राष्ट्रिय सभाको बैठक १ः१५ बजे संघीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने कार्यसूची छ।
दिउँसो ३ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा मिराज ढुंगानालगायतको उपस्थितिमा ‘Gen-Z आन्दोलनको एक वर्ष र अबको बाटो’ विषयक पत्रकार सम्मेलन आयोजना हुनेछ।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको पेन्सन व्यवस्थापनको माग गर्दै प्राध्यापकहरूले दिउँसो ३ बजे कीर्तिपुरस्थित विश्वविद्यालय रजिस्ट्रार कार्यालयको मूल गेटमा धर्ना दिने भएका छन्।
माइतीघर मण्डलामा पनि दिउँसो ३ बजे जातीय छुवाछुतविरुद्धको अभियानले घरबहालमा जातीय आधारमा विभेद गरिएको आरोप लगाउँदै ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।
दिनको अन्तिमतर्फ कीर्तिपुरमा स्थानीयवासीले भदौ २४ गते भएको आगजनी तथा क्षतिलाई लिएर साँझ ५ः३० बजे प्रदर्शन गर्ने भएका छन्। आन्दोलनका क्रममा आफ्नो घर, सम्पत्ति र नगरपालिका नै आगजनीबाट प्रभावित भएको भन्दै उनीहरूले घटनाको जिम्मेवारी, क्षतिपूर्ति तथा न्यायलगायतका विषय उठाउने तयारी गरेका छन्।
उपत्यकामा एकै दिन विभिन्न राजनीतिक, संसदीय तथा नागरिक कार्यक्रम आयोजना हुन लागेकाले कार्यक्रमस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिन सक्ने र मुख्य सडकमा सवारी आवागमन प्रभावित हुन सक्ने सम्भावना छ। विशेषगरी माइतीघर, बबरमहल, नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, कीर्तिपुर, सातदोबाटो तथा भक्तपुरका कार्यक्रमस्थल आसपास यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्नेछ।


प्रतिकृया दिनुहोस