• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमालेको देशव्यापी आन्दोलन घोषणा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी ठहर गर्दै त्यसविरुद्ध राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

मंगलबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष निवासमा बसेको बैठकले सम्पत्ति शुद्धीकरणको बहानामा कुनै वस्तुपरक तथ्य र प्रमाणबिना राजनीतिक प्रतिशोधको उद्देश्यले पौडेललाई पक्राउ गरिएको निष्कर्ष निकालेको जनाएको छ। बैठकले यस्तो कार्य लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक अधिकारमाथिको प्रहार भएको उल्लेख गरेको छ।

बैठकले पौडेलविरुद्धको मुद्दामा विशेष अदालतले पूर्वपक्षका लागि थुनामा राख्न दिएको आदेशप्रति पनि असहमति जनाएको छ। उक्त आदेश न्यायसम्मत नरहेको निष्कर्ष निकाल्दै न्यायिक प्रक्रियामा निष्पक्षता र कानुनी शासनको प्रत्याभूति हुनुपर्नेमा जोड दिएको छ।

एमालेले पार्टीका उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै राज्य संयन्त्रको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँध्ने प्रयास भएको आरोप लगाउँदै त्यसविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टीपङ्क्ति, समर्थक तथा न्यायप्रेमी नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस