• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

देशका अधिकांश भूभागमा मनसुनी प्रभाव, केही क्षेत्रमा वर्षा र तराईमा तातो लहरको सम्भावना

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी प्रभाव रहेको छ भने अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

 

दिउँसो केही क्षेत्रमा वर्षाको सम्भावना

 

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

 

त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

 

तराईमा तातो लहरको जोखिम

 

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) को सम्भावना रहेको जनाएको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ।

 

राति पनि वर्षाको क्रम जारी रहने

 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

प्रतिकृया दिनुहोस