विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारको कदमको निन्दा गरेको छ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई गैरकानुनी ढंगले पक्राउ गरिएको दाबी गरिएको छ। वक्तव्यमा उक्त घटनालाई विपक्षी दलप्रति लक्षित राजनीतिक प्रतिशोधको निरन्तरता भन्दै आलोचना गरिएको छ।
एमालेले आफू सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै सरकारले सामान्य कानुनी प्रक्रिया अवलम्बन नगरी दमनकारी शैली अपनाएको आरोप लगाएको छ। पार्टीका अनुसार उपाध्यक्ष पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेकाले आवश्यक परे कानुनी प्रक्रिया उहाँकै उपस्थितिमा अघि बढाउन सकिने अवस्था थियो।
वक्तव्यमा सार्वजनिक पदमा रहिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ का लागि पक्राउ गरिएको आरोपसमेत लगाइएको छ। एमालेले यसलाई आफ्नो पार्टीविरुद्ध भइरहेको राजनीतिक षड्यन्त्र र श्रृंखलाबद्ध प्रहारको अर्को कडीका रूपमा व्याख्या गरेको छ।
पार्टीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
एमालेले सरकारका कथित स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेको छ।



प्रतिकृया दिनुहोस