रास्वपाको पहिलो महाधिवेशन आजदेखि, नयाँ नेतृत्व र संगठनात्मक पुनर्संरचनामा केन्द्रित हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनका महत्वपूर्ण एजेन्डासहित महाधिवेशन प्रारम्भ हुन लागेको हो।
पार्टीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भइसकेको र आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत व्यवस्थापनका कामहरू पूरा गरिएको जनाइएको छ।
रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, आर्थिक तथा संगठनात्मक प्रतिवेदन तयार भइसकेका छन् भने केन्द्रीय समितिले विधान संशोधनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिएको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी संरचनामा व्यापक परिवर्तन प्रस्ताव गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार गरी १५१ सदस्यीय बनाउने तयारी गरिएको छ। साथै, पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था विधानमा समेटिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमा कम्तीमा एक जना महिला रहने व्यवस्था गरिनेछ। यसलाई पार्टीभित्र समावेशी नेतृत्व विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यस्तै, समावेशिता र संगठनात्मक सन्तुलनलाई ध्यानमा राख्दै ५१ जना केन्द्रीय सदस्य सभापतिबाट मनोनयन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। बाँकी सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जना केन्द्रीय सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ।
पार्टी नेतृत्वले महाधिवेशनलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक रणनीति तय गर्ने अवसरका रूपमा लिएको जनाएको छ। रास्वपाले टोलस्तरसम्म संगठन विस्तार गर्ने लक्ष्यसहित विधानमा आवश्यक व्यवस्था गरिएको बताएको छ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव, समसामयिक राजनीतिक मुद्दा तथा संगठन विस्तारसम्बन्धी विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यसबाट पार्टीको आगामी कार्यदिशा निर्धारण हुनुका साथै संगठनलाई थप प्रभावकारी बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ।
रास्वपाका अनुसार महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। पार्टीले हाल देशभर करिब पाँच लाख सदस्य रहेको दाबी गरेको छ। साथै, अधिकांश पालिका र वडास्तरका अधिवेशन सम्पन्न भइसकेको र प्रदेश तथा जिल्ला तहबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भएको जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संस्थागत विकास, नेतृत्व हस्तान्तरण तथा दीर्घकालीन राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।


प्रतिकृया दिनुहोस