इतिहासले केपी ओलीका कामहरूलाई सधैं सम्झिनेछ : गोपाल ओली
काठमाडौं । नेकपा (एमाले) का युवा नेता गोपाल ओली ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वमा सम्पन्न भएका राष्ट्रिय महत्वका कामहरूलाई इतिहासले दीर्घकालसम्म स्मरण गर्ने बताउनुभएको छ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले कुनै पनि व्यक्तिले केपी शर्मा ओलीलाई मन पराउन वा नपराउन सक्ने भए पनि उहाँको नेतृत्वमा भएका काम, निर्णय र राष्ट्रिय हितका लागि चालिएका कदमहरूलाई नकार्न नसकिने उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार भूकम्पपछिको पुनर्निर्माण अभियान, भारतीय नाकाबन्दीका बेला राष्ट्रिय स्वाभिमानको पक्षमा लिइएको अडान तथा कोभिड–१९ महामारीका कठिन परिस्थितिमा देशको नेतृत्व सम्हाल्ने जिम्मेवारी ओलीले निर्वाह गर्नुभएको थियो।
गोपाल ओलीले पूर्वाधार विकासका क्षेत्रमा पनि उल्लेखनीय पहल भएको दाबी गर्नुभएको छ। तुइन विस्थापन, सुरुङमार्ग निर्माण, रेलमार्ग विस्तारको अवधारणा, जयनगर–जनकपुर रेल सञ्चालन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा काठमाडौं–तराई द्रुतमार्गलगायतका परियोजनालाई गति दिने काम ओली नेतृत्वमा भएको उहाँको भनाइ छ।
त्यस्तै ऊर्जा उत्पादन र प्रसारण प्रणाली विस्तार, डिजिटल सेवाको प्रवर्द्धन, विमानस्थल स्तरोन्नति तथा विद्युत् निर्यातको सम्भावना विस्तारजस्ता विषयमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटिएको नयाँ नक्सा जारी गर्ने निर्णयलाई राष्ट्रियताको पक्षमा लिइएको ऐतिहासिक कदमको रूपमा व्याख्या गर्नुभएको छ।
गोपाल ओलीले नेतृत्वको मूल्याङ्कन राजनीतिक नाराभन्दा काम र उपलब्धिका आधारमा हुनुपर्ने धारणा राख्दै राष्ट्र निर्माणमा योगदान पुर्याउने व्यक्तित्वप्रति निष्पक्ष दृष्टिकोण अपनाउन आवश्यक रहेको बताउनुभएको छ। उहाँका अनुसार इतिहासले अन्ततः व्यक्तिका भनाइभन्दा पनि उसका कामलाई नै मूल्याङ्कन गर्ने गर्दछ।


प्रतिकृया दिनुहोस