नेपालमा लगानीमैत्री वातावरण बनाउन चीनको आग्रह
काठमाडौं । चीनले नेपालमा थप चिनियाँ लगानी भित्र्याउन अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गरेको छ। बेइजिङमा सोमबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले लगानीकर्ताका लागि निष्पक्ष, पारदर्शी र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभएकाे हाे ।
परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा वाङले चीन आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि नेपालले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयाे । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा लगानीका लागि अझ अनुकूल वातावरणको अपेक्षा गरिएको उल्लेख गरिएको छ।
हाल नेपालमा चिनियाँ लगानी तथा आर्थिक सहयोग मुख्यतः जलविद्युत्, पूर्वाधार, विमानस्थल, सडक, ऊर्जा तथा सिमेन्ट उद्योगजस्ता क्षेत्रमा केन्द्रित छ।
भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप मजबुत बनाउँदै विकासशील राष्ट्रहरूको साझा हित र चासोको संरक्षणमा मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
चिनियाँ पक्षले उच्चस्तरीय ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण प्रणाली, सडक सञ्जाल, सीमा नाका र हवाई यातायातजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
वाङले चीन–नेपाल सम्बन्धलाई परम्परागत मित्रता र आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालको विकास, समृद्धि र आधुनिकीकरण यात्रामा चीन सधैं भरोसायोग्य छिमेकी र साझेदारका रूपमा रहने बताउनुभयाे ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा स्थापना भएको विकास तथा समृद्धिमुखी रणनीतिक सहकार्यले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै उहाँले भविष्यमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे ।


प्रतिकृया दिनुहोस