• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

एमालेले संविधान संशोधनका लागि सुझाव सङ्कलन अभियान सुरु गर्‍यो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी आफ्नो धारणा तयार गर्न सुझाव सङ्कलन प्रक्रिया अघि बढाएको छ। यसका लागि गठन गरिएको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको हो।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधानअन्तर्गतको शासन प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक, सामाजिक तथा पेशागत क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ।

बैठकले संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभव, देखिएका चुनौती, सबल तथा कमजोर पक्षहरूको अध्ययन गरी संशोधनका सम्भावित क्षेत्र पहिचान गर्न अग्निप्रसाद खरेलको नेतृत्वमा उपसमिति गठन गरेको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।

उपसमितिले सुझाव सङ्कलनको कार्ययोजना तथा विस्तृत कार्यतालिका तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ।

त्यसैगरी, संविधान संशोधनसम्बन्धी विषयमा अन्य राजनीतिक दल तथा उनीहरूद्वारा गठित कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रियालाई अगाडि बढाउने निर्णय पनि गरिएको छ।

बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरेको छ।

एमालेले संविधान कार्यान्वयनका अनुभव र आवश्यक सुधारका विषयलाई समेट्दै व्यापक परामर्शमार्फत संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस