सानिमा बैंकको छात्रवृत्ति कार्यक्रम : गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि आवेदन खुला
काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०६८/६९ देखि सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै आगामी शैक्षिक सत्रका लागि आवेदन आह्वान गरेको छ ।
बैंकले काठमाडौं उपत्यका बाहिर रहेका शाखा भएका जिल्लाका स्थायी बासिन्दा मध्येबाट गरिब, विपन्न, पिछडिएको वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत माध्यमिक तह (कक्षा ११ र १२) अध्ययन गर्न चाहने विद्यार्थीहरूले आफूले रोजेको शैक्षिक संस्था तथा विषयमा अध्ययन गर्ने अवसर पाउनेछन् । छात्रवृत्तिअन्तर्गत शैक्षिक संस्थाको शुल्क, शैक्षिक सामग्री तथा मासिक रु. २,००० नगद समेत उपलब्ध गराइनेछ ।
छात्रवृत्तिका मुख्य शर्तहरू
आवेदक सानिमा बैंकको शाखा रहेको जिल्लाको स्थायी बासिन्दा हुनुपर्नेछ । साथै, वडा कार्यालयको सिफारिस वा सम्बन्धित परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
त्यस्तै, आवेदकले सोही जिल्लाको सरकारी वा सामुदायिक विद्यालयमा विगत तीन वर्ष निरन्तर अध्ययन गरी पहिलो प्रयासमै एसईई परीक्षामा न्यूनतम ‘बी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।
विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था आफैँ छनोट गर्न सक्नेछन् भने भर्ना भएपछि मात्र छात्रवृत्ति लागू हुनेछ ।
बैंकले अन्य कुनै छात्रवृत्ति नलिएको विद्यार्थीलाई मात्र आवेदन दिन योग्य हुने स्पष्ट पारेको छ ।
छनौट प्रक्रिया बैंकद्वारा गठित छात्रवृत्ति समितिबाट गरिनेछ । आवश्यक परेमा अन्तर्वार्ता तथा पारिवारिक पृष्ठभूमि जाँचसमेत गरिने बैंकले जनाएको छ ।
आवश्यक कागजातहरू
आवेदकले जन्मदर्ता वा नागरिकता प्रतिलिपि, वडा कार्यालयको सिफारिस, पासपोर्ट साइज फोटो, एसईई मार्कशिट तथा चरित्र प्रमाणपत्र, अध्ययन प्रमाणपत्र र अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
आवेदन मिति र प्रक्रिया
आवेदन फाराम बैंकका सम्बन्धित शाखा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ । आवेदन बुझाउने अन्तिम मिति २०८३ साल श्रावण १५ गते कार्यालय समयभित्र तोकिएको छ ।
बैंकले उपत्यका बाहिर रहेका आफ्ना सबै शाखामार्फत छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । थप जानकारीका लागि बैंकको कर्पोरेट अफेयर्स विभाग, नक्सालस्थित प्रधान कार्यालय वा नजिकको शाखामा सम्पर्क गर्न सकिनेछ ।
सानिमा बैंकको यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षामा पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस