• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना नगरे दीर्घकालीन रूपमा धान्न कठिन हुन्छ : अर्थमन्त्री वाग्ले

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाइराख्न संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभामा बजेटसम्बन्धी छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमा प्रणाली सरकारका लागि बढ्दो वित्तीय भारको विषय बनेको बताए।

उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गरिएको बजेटभन्दा बढी रकम खर्च भइरहेको छ। गत आर्थिक वर्षमा सरकारले बीमासम्बन्धी दायित्व पूरा गर्न अतिरिक्त स्रोत व्यवस्थापन गर्नुपरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यही अवस्था दोहोरिन सक्ने संकेत गरे।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई आर्थिक रूपमा टिकाउ, समावेशी र प्रभावकारी बनाउन पुनर्संरचना अपरिहार्य रहेको बताए। उनका अनुसार बीमा प्रणाली सफल हुन ठूलो संख्यामा नागरिकको सहभागिता आवश्यक हुन्छ। तर हाल युवावर्गको सहभागिता अपेक्षाकृत कम रहेको र बढी सेवा आवश्यक पर्ने समूह मात्र बीमामा आबद्ध हुने प्रवृत्तिले कार्यक्रमको वित्तीय सन्तुलनमा चुनौती सिर्जना गरेको छ।

उनले आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकलाई राज्यले संरक्षण गर्नुपर्ने धारणा राख्दै उनीहरूको प्रिमियम सरकारले नै व्यहोर्नुपर्ने बताए। साथै मध्यमवर्गीय र सक्षम नागरिकले नियमित रूपमा प्रिमियम तिरेर सोहीअनुसार सेवा प्राप्त गर्ने व्यवस्था विकास गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य बीमा कोषलाई बलियो बनाउन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने चुरोट, मदिराजस्ता वस्तुबाट उठ्ने करको निश्चित हिस्सा बीमा कोषमा परिचालन गर्न सकिने सुझाव पनि उनले दिए। राज्यको सहयोग आवश्यक भए पनि सम्पूर्ण खर्च सरकारले मात्र बेहोर्ने मोडल व्यवहारिक नहुने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपाली समाजको आवश्यकता र अनुभवलाई आधार बनाएर स्वास्थ्य बीमा प्रणालीलाई क्रमशः परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गर्दै यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच साझा समझदारी आवश्यक रहेको बताए। उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसँगै आर्थिक रूपमा धान्न सकिने बीमा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस