• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको आज अन्तिम दिन, समयमै प्रक्रिया पूरा गर्न आग्रह

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि दिइएको समयसीमा आज मध्यरातिसँगै समाप्त हुने भएको छ। पार्टीले जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने जनाएको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल ले समयसीमा सकिन लागेकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न आग्रह गरेका छन्। उनका अनुसार अन्तिम समयमा एकैपटक धेरै सदस्यले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिलाइ नगरी प्रक्रिया पूरा गर्नु उपयुक्त हुनेछ।

कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते साँझसम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्। साथै थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी प्रक्रियामा सहभागी भइसकेका छन्।

महामन्त्री पौडेलले कांग्रेसको वेबसाइटमार्फत प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइल प्रयोग गरेर सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। प्रक्रिया सम्बन्धी जानकारी नभएका सदस्यले वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न उनले आग्रह गरेका छन्।

पार्टीले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन माध्यमबाट अद्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विभिन्न चुनौती र अवरोधका प्रयासबीच पनि अभियान देशभर उत्साहजनक रूपमा अघि बढिरहेको छ।

पार्टी नेताहरूका अनुसार विगतमा अरू व्यक्तिले फाराम भरिदिने प्रचलनका कारण सदस्यताको वास्तविक विवरण स्पष्ट नहुने अवस्था थियो। अहिले भने सदस्य स्वयंले अनलाइन प्रणालीमार्फत विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्थाले वास्तविक सदस्य संख्या र तथ्यांक अभिलेखीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित रूपमा अभिलेखीकरण र अद्यावधिक हुने भएकाले सदस्यता व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस