पार्टीलाई सफलताको शिखरमा पुर्याएपछि मात्र विश्राम लिन्छु : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको नेतृत्व बीचमै छाड्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले चुनौतीपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी लिएको उल्लेख गर्दै कठिन समय आएको भन्दै जिम्मेवारीबाट पछि नहट्ने बताउनुभयो।
उहाँले आफूलाई पार्टी अध्यक्षको जिम्मेवारी केवल अनुकूल अवस्था वा सत्ताको अवसरका लागि नदिइएको भन्दै कठिन परिस्थितिमा समेत संगठनलाई एकताबद्ध राख्दै अघि बढाउने दायित्व आफ्नो रहेको धारणा व्यक्त गर्नुभयो।
पार्टीभित्र नेतृत्व परिवर्तनबारे विभिन्न अड्कलबाजी भइरहेको सन्दर्भमा उहाँले एमालेलाई सफलताको नयाँ उचाइमा पुर्याएपछि मात्रै विश्रामको विषय आउने स्पष्ट गर्नुभयो। पार्टीको विधान र स्थापित प्रक्रियाअनुसार उपयुक्त समयमा मात्रै नेतृत्व हस्तान्तरण हुने उहाँको भनाइ थियो।
‘म पार्टीलाई बीच बाटोमा छाडेर हिँड्ने पक्षमा छैन। चुनौतीसँग जुध्दै संगठनलाई थप सुदृढ बनाउने र सफलतामा पुर्याउने मेरो प्रतिबद्धता यथावत् छ,’ उहाँले भन्नुभयो।
पितृशोक, स्वास्थ्य उपचार तथा अन्य व्यक्तिगत परिस्थितिका कारण सक्रियतामा केही असर परेको स्वीकार गर्दै उहाँले अब पार्टीका नेता–कार्यकर्तासँगको संवाद र भेटघाटलाई थप तीव्र बनाउने जानकारी दिनुभयो।
देश, पार्टी र लोकतान्त्रिक आन्दोलनले सामना गरिरहेका चुनौतीहरूको सामना गर्दै संगठनलाई मजबुत बनाउने आफ्नो सङ्कल्प कायम रहेको उहाँले दोहोर्याउनुभयो।


प्रतिकृया दिनुहोस