नवजागरण बचत तथा ऋण सहकारी : सदस्यकाे दु:ख-सुखको साथी
रामेछाप । मन्थली टेकानपुरका २५ जना महिलाहरूले २०५५ सालमा मासिक १० रुपैँया जम्मा गरेर सुरु गरेको सहकारी संस्था अहिले ७० करोड ८१ लाख रुपैँयाको मालिक बनेको छ ।
मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्था अहिले १० हजार बढी सदस्यको साथी र सारथि बनेको छ । सहकारीको कूल शेयर पुँजी मात्रै ४ करोड ४३ लाख ९३ हजार पुगेको छ ।
सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सहकारीको जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया जम्मा भएको छ । अन्य कोषमा ९० लाख रुपैँया छ ।
हाल सो सहकारीको बचत निक्षेप ५४ करोड ५० लाख रुपैँया रहेको छ । अहिले ३७ करोड ५२ लाख रुपैँया बढी ऋण लगानीमा छ । सहकारीमा ७ सय जना ऋणी सदस्य छन् ।
२०५५ साल साउन १२ गते मन्थलीको टेनकानपुरका महिलाले खरखाँचो टार्न सो सहकारी सुरु गरेका थिए । महिलाहरूले ७ वर्षसम्म गाउँमा सहकारी सञ्चालन गरे । गाउँमा सञ्चालन गरेको सहकारी सोचे जसरी फष्टाउन सकेन । सदस्य सङ्ख्या र कार्य क्षेत्र पनि त्यति बढेन ।
त्यसै बिच बजारका केही व्यवसायी र अगुवासँग सल्लाह गरेर सहकारी मन्थलीमा सारियो । २०६२ सालबाट सहकारी मन्थलीमा सर्यो । कार्यक्षेत्र बढ्यो, सदस्य सङ्ख्या पनि बढ्यो । अहिले सस्य सङ्ख्या बढेर १० हजार ८० जना पुगेको छ भने कार्यक्षेत्र बढेर मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोसी गाउँपालिकासम्म पुगेको छ ।
.jpg)
सहकारीको आफ्नै सुविधासम्मन्न भवन बनेको छ । मन्थलीमा रहेको सहकारीको आफ्नै भवनबाट सहकारीले सेवा प्रवाह गर्दै आएको संस्थाका अध्यक्ष सोमेश थापाले जानकारी दिनुभयाे ।
सहकारीले शेयर सदस्यलाई कारोबारमा सहज होस् भनि एटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै मोबाइल बैङ्किङ सेवा पनि सञ्चालनमा छ । मोबाइलबाट नै रकम ट्रान्फर गर्नका साथै बिजुली, खानेपानी लगायतका बिल तिर्न पनि मिल्छ ।
सहकारीले मन्थली लगायत बजारका व्यवसायीलाई क्युराआ वितरण गरेको छ । जसले गर्दा सामान किन्न जाने उपभोक्ताले सोझै मोबाइलबाट नै रकम भुक्तानी गर्न सक्ने मन्थलीका व्यवसायी राकेश गुप्ता बताउनुहुन्छ।
.jpg)
सहकारीले जीवित छँदा बचत गराउने मात्र हैन बिमाको व्यवस्था समेत गरिदिएको छ । कुनै बचत सदस्यको मृत्यु भएमा उसलाई राहत स्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । यस बाहके बचतकर्ताका परिवारका सदस्यहरूको मृत्यु भएमा राहत स्वरूप ३ हजार रुपैँया सहयोग गर्ने गरेको छ । मृत्यु भएको १३ दिन भित्रै परिवारलाई भेटेर दुःख साट्दै सहकारीले सो रकम हस्तान्तरण गर्ने गरेको छ । यति मात्र है कुनै पनि बच्चा जन्मिएको ६ महिना भित्र बाल बचत खाता खोल्न आएमा सो बच्चाको नाममा सहकारीको तर्फबाट ५ सय रुपैयाँ थप गरेर बचत गरिदिने गरेको छ । यस बाहेक गर्भवती तथा सुत्केरी सदस्यलाई सहयोग, ज्येष्ठ नागरिक तथा असल शेयर सदस्यहरूलाई सम्मान लगायतका सदस्य हितका कार्यक्रम सहकारीले गर्दै आएको छ ।
सहकारीका शेयर सदस्य बिरामी पर्दा उपचार गर्न लैजान विना धितो निर्ब्याजी रकम दिने व्यवस्था पनि सहकारीले मिलाएको छ । यसले गर्दा आपातमा सहकारी, खुसीमा सहकारी अनि दुःखमा पनि सहकारी भएको छ ।


प्रतिकृया दिनुहोस