• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १७ औँ वार्षिक साधारणसभा शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । 

संघका जिल्ला अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले २०५५ सालमा स्थापना भएको जिल्ला सहकारी संघमा हाल १ सय ७३ संस्था आबद्ध रहेका जानकारी दिनुभयो । अन्य बचत तथा ऋण सहकारी संस्थालाई पनि संघमा आबद्ध गराउने प्रयास जारी रहेको दाहालले बताउनुभयो । 

दाहालले ठुलो सहकारी बनाउन होडबाजी गर्नुभन्दा साना र मझौला सहकारी निर्माण गरी सदस्यमैत्री, पारदर्शी, समुदायप्रति जिम्मेवार र अनुशासित सहकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

हाल कूल निक्षेप ३ करोड ९८ लाख ४६ हजार ५ सय ६१ रहेको सो संघले यस वर्ष ६ लाख ३७ हजार ४ सय ८ रुपैँया खुद बचत गरेको छ । संघको जगेडा कोषमा १२ लाख २३ हजार ३ सय ३९ रुपैँया रहेको छ । 

कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेलाई उत्कृष्ट सहकारी अभियन्ता, किस्मत बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी, दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्थालाई महिला तर्फ उत्कृष्ट सहकारी संस्था, बेताली बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट कारोबार गर्ने संस्था र समावेशी बचत तथा ऋण सहकारी संस्थाका अर्जुन श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मान गरिएको छ । 

साधारण सभामा वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हेमबहादुर कार्की, जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल, लगायतका सहकारी कर्मी तथा आबद्ध संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस