• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल र एडीबीबीच २ परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच २ वटा परियाेजनामा सम्झाैता भएकाे छ ।

नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट-एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि रु २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा बुधबार हस्ताक्षर भएको हाे ।

अर्थ मन्त्रालयमा आयाेजित कार्यक्रममा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार उक्त परियोजनाका लागि एडीबीले रु १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ ।

जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो ।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले प्रिपेड कार्डको माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ । यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ । परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो ।

जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ । यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस