• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

निर्माण व्यवसायीको भुक्तानी एक साताभित्र हुन्छ : अर्थमन्त्री पाैडेल

खबर स‌ंवाददाता

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको वक्यौता एक साताभित्र भुक्तानी गर्ने बताउनुभएकाे छ ।

शनिबार काठमाडाैंमा आयाेजित विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका विषयक छलफलमा उहाँले एक साताभित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्योट हुने बताउनुभयाे ।

भुक्तानी नपाए आफूसँग छलफलका लागि आउन समेत अर्थमन्त्री पाैडेलले निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - 'तपाइँहरूको भुक्तानी बाँकी कुन-कुन मन्त्रालय र निकायमा छ भोलि जानुस् भोलि नै भुक्तानी हुनेछ, भोलि भएन भने पर्सी हुनेछ, ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ, त्यसरी पनि भुक्तानी पाउनु भएन भने मकहाँ आउनुस्, त्यसपछि बसेर छलफल गरी उचित निकास निकालाैंला ।' वक्याैताबारे अन्याेल रहेकाे भन्दै अर्थमन्त्री पाैडेलले वक्यौता कहाँ कति हाे भन्ने निर्क्योल गर्न आग्रह गर्नुभयाे । 

सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ् र मासुको जस्तो भएको भन्दै उहाँले सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्राे हुनुपर्ने बताउनुभयाे । एकले अर्काको विरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने भन्दै उहाँले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताउनुभयाे । सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिन नहुने अर्थमन्त्री पाैडेलकाे भनाइ छ ।

 बजेट वितरणमा धेरै समस्या रहेका भन्दै उहाँले बजेट वितरण प्रणालीमा निर्णायक सुधार आवश्यक रहेकाे बताउनुभयाे ।

प्रतिकृया दिनुहोस