• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विकास र समृद्धिका लागि अनुकूल वातावरण बनेको छ : अर्थमन्त्री पाैडेल

खबर स‌ंवाददाता

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुकाे प्रमुख उद्देश्य देशलाई अस्थिरताबाट जाेगाउनु रहेकाे बताउनुभएकाे छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शनिबार रुपन्देहीकाे बुटबलमा शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले याे सरकारले राजनीतिक स्थिरताकाे सन्देश दिएकाे बताउनुभयाे । 

नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि दुई मुख्य पार्टी मिलेर वर्तमान सरकार बनेको उहाँले बताउनुभयाे । यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको अर्थमन्त्री पाैडेलले दाबी गर्नुभयाे ।

वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको भन्दै उहाँले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको बताउनुभयाे । विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ अर्थमन्त्री पाैडेलले बताउनुभयाे । विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने भन्दै उहाँले यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताउनुभयाे ।

प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना समयमै सम्पन्न गर्न अर्थमन्त्री पाैडेलले निर्देशन दिनुभयाे । समयमै काम सकेर स्यावासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उहाँले आग्रह गर्नुभयाे । छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न पनि अर्थमन्त्री पाैडेलले सचेत गराउनुभयाे ।

प्रतिकृया दिनुहोस