• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अर्थतन्त्र हरियो हुँदै, नेप्सेमा सकारात्मक सर्किट

समाचार

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस सहितको सरकार बनेपछि अर्थतन्त्रमा चौतर्फी सकारात्मक प्रभाव देखिन थालेको छ । निरन्तर बढ्दै गएको शेयर बजार सूचक आज अपूर्व ढंगले बढेको छ । बजार खुलेको डेढ मिनेट हाराहारीमा नेप्से परिसूचक एकसय दुई अंक भन्दा धेरैले बढेको छ । चार प्रतिशत भन्दा धेरैले बजार बढेकाले नेप्सेले सर्किट ब्रेकर लगाएको छ । सो अनुसार २० मिनेटका लागि बजार बन्द भएको छ । 

बजार खुल्नासाथ केही मिनेट भित्र २७ करोड रुपैयाँभन्दा धेरैले बजार बढेको थियो । 

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको थियो । नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने उदार नीति लिएको थियो । त्यसैको परिणामस्वरुप आज बजारमा सकारात्मक प्रभाव देखिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा शेयर बजारमा मात्र नभएर समग्र अर्थतन्त्र नै हरियो बनाउने घोषणा गर्नुभएको थियो । पूँजी वजारप्रति अर्थमन्त्री विष्णु पौडेल सधैं सकारात्मक मानिनुहुन्छ । विष्णु पौडेल अर्थमन्त्री बनेपछि शेयर बजार निरन्तर बढ्दै आएको थियो । मौद्रिक नीतिपछि बजारमा ठूलो उछाल आएको हो । 

शेयर विष्लेशकहरुका अनुसार बजारमा चाँडै करेक्सन आउनसक्छ तर त्यस्तो करेक्सन ठूलो नहुन सक्छ । विगतमा बढ्न नसकेको बैंकिक क्षेत्रको शेयर मूल्य अहिले लगातार बढिरहेको छ । यसकारण यसपटकको नेप्सेको उकालो यात्रा दिगो हुने अपेक्षा गरिएको छ । 

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुले जति पनि शेयर लोन लिन सक्ने व्यवस्था गर्दै २० करोड रुपैयाँको क्याप खारेज गरेको थियो । त्यसबाहेक पनि विभिन्न तरिकाले पूँजी वजारलाई मौद्रिक नीतिले सहयोग गरेको देखिएको थियो । 

समग्र अर्थतन्त्र चलायमान हुने देखिएकाले शेयर बजारमा उछाल आएको जानकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस