• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

खबर स‌ंवाददाता

काठमाडाैं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने अनुमान गरेको छ । 

तथ्यांक कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०८०-८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ हुने प्रारम्भीक अनुमान रहेको जनाएको हो ।

यस आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आधार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएकाे तथ्यांक कार्यालयले जानकारी दिएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) को  ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको छ । तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय वचत हुने अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले ६ देखि ८ महिनाको डाटाका आधारमा वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदन बनाइएको बताउनुभयो । उहाँले पछिल्लो अर्थतन्त्रको सूचक हेर्दा अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको देखिएको बताउनुभयाे ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेको छ । चालु आर्थिकमा जीडीपीको २२ दशमलव ९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस