क्षमताभन्दा बढी खर्च गर्दासम्म समाज अगाडि बढ्दैन : लब श्रेष्ठ
रामेछाप । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नेपालीमा क्षमता भन्दा बढी खर्च गर्ने गलत बानी विकास हुँदै गएको बताउनुभएको छ ।
मंगलबार ६७ औँ सहकारी दिवसको अवसरमा मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमख श्रेष्ठले क्षमता भन्दा बढी खर्च गर्दा ऋणको बोझ थपिँदै गएको बताउनुभयो । ‘क्षमता भन्दा बढी खर्च गर्दासम्म व्यक्ति समृद्ध बन्दैन, समाज अगाडि बढ्दैन’, श्रेष्ठले भन्नुभयो ।
अहिले सहकारी र सहकारी सदस्यहरू आर्थिक संकटमा पर्नुको पछाडि पनि क्षमता भन्दा बढी खर्चे गर्ने बानीकै परिणाम भएको श्रेष्ठले बताउनुभयो । आफ्नो हैसियत अनुसार खर्च गर्ने हो भने कोही पनि अनावश्यक ऋणको भारमा नपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
श्रेष्ठले विकासका हरेक गतिविधिमा नागरिक सहभागिता जरुरी रहेको बताउनुभयो । ‘विकासलाई सही हिसाबले अघि बढाउने हो भने समुदायको सहभागिता जरुरी हुन्छ’, उहाँले भन्नुभयो ।
सरकारले के गर्यो भन्दा पनि हामी सबै मिलेर के गर्ने भन्ने तर्फ सोच्न उहाँले सहकारकर्मीलाई आग्रह गर्नुभयो । सहकारीले सकारलाई टेवा पुर्याएकोले सरकारले पनि सहकारीको संरक्षणको लागि काम गर्ने र गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
.jpg)
अहिले सहकारी प्रति अविश्वास बढ्दै गएको गुनासो आएकोमा श्रेष्ठले एउटाले गलत गर्दैमा सबैलाई गलत भन्नु नहुने बताउनुभयो । ‘सबैले सकारात्मक सोचौँ, एक आपसमा विश्वासको वातावरण बनाऔँ’, श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापमा अध्यक्ष जगन्नाथ दाहालले सहकारीका चुनौती र सम्भावनाको विषयमा अवधारणा प्रस्तुत गर्नुभएको बचत तथा ऋण सहकारी संघ रामेछाप सचिव नवीन केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद घिमिरे, विषयगत सहकारी संघका अध्यक्ष एवं प्रतिनिधिहरूले पनि सहकारीको वर्तमान अवस्था, समस्या र सम्भावनाको उपाय बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
त्यस अघि मन्थली बजारमा सहकारीकर्मीहरुले र्याली निकालेका थिए ।


प्रतिकृया दिनुहोस