आकाशियाे सुनको मूल्य, कारण लगानीकर्तादेखि अन्तर्राष्ट्रिय प्रभावसम्म
काठमाडौं । याे साता सुनको मूल्य ह्वात्तै बढेकाे छ । बुधबार छापावाल सुनकाे मूल्य प्रति ताेला ७६ हजार ५ सय पुगेकाे छ । याे अहिलेसम्मकै उच्च मूल्य हाे ।
बिहेकाे सिजन सुरु हुनै लाग्दा अचाक्ली मूल्य बढेपछि अहिले सर्वसाधारण पनि तनावमा आएका छन् । मूल्य बढेकै कारण व्यापारमा मन्दी आएकाले व्यापारी पनि चिन्तित छन् ।
तर मूल्य नियन्त्रणमा आउने सम्भावना भने देखिँदैन ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा त्यसको असर परेको व्यवसायीले बताएका छन् ।
सुनकाे मूल्यमा उतारचढाव
नेपालकाे बजारमा गत वर्षकाे पुष १४ सम्म सुनको मूल्य ५९ हजार ५ सय थियो । बुधबार सुनकाे मूल्य प्रति ताेला ७६ हजार ५ सय पुगेको छ । याे अवधिमा सुन मूल्य प्रति तोला १७ हजारले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उकालाे लागि नै रहेकाे छ ।
सुनकाे मूल्य यसरी बढ्नुकाे कारणाबारे जानकारी दिँदै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा भन्छन्– ‘अमेरिका–इरान द्वन्द्वकै कारण सेयर र डलरका लगानीकर्ता सुनमा आकर्षित भएको देखिन्छ । यसले सुनकाे भाउ बढ्न मद्दत गरेकाे छ । ’
सुनकाे मूल्यमा अन्तर्राष्ट्रिय प्रभाव
गत साउनमा पनि सुनकाे मूल्य छाेटाे अवधिमै धेरै बढेकाे थियाे । नेपाली बजारमा सुन प्रति ताेला ६८ हजारसम्ममा काराेबार भएकाे थियाे पुगेकाे थियाे ।
त्यसबेला सुनकाे मूल्य बढ्नुकाे कारण थियो, अमेरिका र चीन बीचको व्यापार युद्ध ।
इतिहास हेर्ने हो भने अमेरिका संलग्न जुनसुकै द्वन्द्वकाे प्रत्यक्ष असर सुनको मूल्यमा पर्ने गरेको छ । त्यतिमात्र होइन विश्व राजनीतिमा आउने हरेक अस्थिरताले प्रत्यक्ष रुपमा सुनको भाउलाई प्रभाव पार्दे आएको छ ।
यी पनि हुन् कारण
सुनलाई सुरक्षित सम्पत्तिको मानिन्छ । डलरको भाउ घट्ने अवस्थामा लगानीकर्ताले अन्य विकल्प खोज्छन् । त्यसरी खोजिने विकल्पमा पहिलो नम्बरमा सुन आउँछ । यस्ताेमा सुनकाे माग बढ्छ, मूल्य वृद्धि हुन्छ ।
अहिले भारतकाे आर्थिक वृद्धिदर संकुचित भइ पाँच प्रतिशतमा झरेको छ । गत वर्ष भने वृद्धिदर आठ प्रतिशत थियो । अर्थतन्त्र कमजोर हुँदा भारतीय कम्पनीको शेयर मूल्यमा गिरावट आउने क्रम जारी छ । जसका कारण भारतीय लगानीकर्ताले अन्य विकल्प रोजेका छन् ।
विकल्प खाेजेका उनीहरुले सुनमा लगानी बढाएका छन् । त्यसकाे असर पनि सुनकाे मूल्य परेकाे छ ।
अझै बढ्न सक्छ मूल्य
विगतको अनुभव विश्लेषण गर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ । इरान र अमेरिकाको तनाव अझै बढ्ने देखिएकाे छ । अमेरिकाकाे आक्रमणमा इरानी सैनिक अधिकारी मारिएकाे प्रतिशाेधमा इरानले मिसाइल आक्रमण गरेकाे छ । यी दुई बीचकाे तनाव यतिबेला उत्कर्षमा छ ।
यस्ताेमा डलरमा लगानी गर्नेकाे प्राथमिकता सुन तिर सरेकाे छ । फलस्वरुफ सुनकाे मूल्य अझै उकालाे लाग्ने देखिन्छ ।


प्रतिकृया दिनुहोस