दिदी बहिनी महिला बचतको कारोबार एक करोड नजिक
रामेछाप । रामेछापको मन्थली स्थिति दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्थाकोको कारोबार एक करोड रुपैँयाको नजिक पुगेको छ ।
सो सहकारीको १७ औँ साधारण सभामा हालसम्म कूल ७९ लाख ५० हजार रुपैँया कारोबार भएको जानकारी दिइएको छ । त्यस्तै ५१ लाख ३७ हजार रुपैँया निक्षेप संकलन तथा ३९ लाख ६७ हजार रुपैँया ऋण लगानी भएको छ । संस्थाको शेयर पुँजी २ लाख ४४ हजार रहेको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कूल ३ सय ७७ महिला बचत सदस्य रहेको सो सहकारीले यस वर्ष २ लाख १७ हजार खुद बचत गरेको छ । संस्थाको जगेडा कोषमा हालसम्म ५ लाख ४५ हजार रुपैँया रहेको छ । ऋण सुरक्षा कोषमा ४ लाख ६५ हजार रुपैँया रहेको छ ।
संस्थाकी अध्यक्ष सोविता न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले सो सहकारी संस्था महिलाले सञ्चालन गरेको नमुना संस्था भएको बताउनुभयो । उहाँले सहकारी मात्र होइन सहकारीका सदस्य पनि आर्थिक हिसाबले सबल हुनु पर्नेमा जोड दिनुभयो । त्यसैले सदस्यलाई उद्यम विकासका काममा जोड्नु पर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारीलाई सहकारीको सिद्धान्त अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसको लागि आवश्यक सिप र क्षमता विकास गर्दै लैजानु पर्ने दाहालले बताउनुभयो ।
साधारण सभामा ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता तथा असल ऋणी मध्यबाट एक÷एक जनालाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा संस्थाकी सचिव कल्पना घिमिरे सत्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना समेत पेस गर्नुभएको थियो । संस्थाको कार्ययोजनामा सदस्य विस्तार, ऋण असुलीमा कडाइ लगायतका कार्यक्रम राखिएका छन् । यस वर्ष सदस्य सङ्ख्या ५ सय पुर्याउने लक्ष संस्थाले लिएको छ ।
संस्थाकी लेखा सुपरिवेक्षण समिति संयोजक पार्वती कुमारी पाठक घिमिरेले कोषहरूमा पल्स अनुसारको रकम छुट्याई पल्स नियमको पूर्ण पालना गर्न, वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न, कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न, भाका नाघेको ऋण उठाउन पहल कदमी लिन, सदस्य वृद्धिको लागि विशेष पहल गर्न सुझाव दिनुभएको छ ।


प्रतिकृया दिनुहोस