रामेछाप बचत तथा ऋण सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १६ औँ वार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कँडेलले समग्र देशलाई माथि उठाउने अभियान सहकारी भएको प्रष्ट पार्नुभयो । सार्वजनिक, निजी र सहकारीको माध्यमबाट मात्र देश माथि उठाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति सदस्य डीबी बस्नेतले कतिपय आपराधिक मानसिकताग्रस्त मानिसहरू सकारी सञ्चालक बन्न पुग्दा सहकारी संकटग्रस्त बनेका बताउनुभयो । त्यसैले उनीहरूलाई कारबाहीको दायरामा ल्याउनै पर्नेमा उहाँले जोड दिनुभयो ।
लापरबाहीपूर्ण काम गर्ने मान्छेले सहकारी सञ्चालन गर्यो भने उनीहरूको जेलको बास निश्चित भएको उहाँले बताउनुभयो । व्यवस्थित तरिकाले सहकारी सञ्चालन गर्दा समस्या परेमा समाधानको बाटो खोज्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दाहालले जिल्ला सहकारी संघ गठन भएको २५ वर्ष भए पनि केही समय आएको सुस्तताको कारण १६ औँ साधारण सभा मात्र गर्न पाएको बताउनुभयो । अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संयुक्त रूपमा लाग्नु पर्ने उहाँको भनाइ छ । सहकारीलाई व्यवस्थित र पारदर्शी बनाउनु आजको प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष नवीन केसीले सहकारीलाई विधिमा सञ्चालन गर्ने भूमिका जिल्ला बचत तथा ऋण सहकारी संघले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसो गर्न सकिएन भने जनताको धन सुरक्षित र संरक्षित गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
संस्थाका सचिव शिवराज श्रेष्ठले संघमा १ सय ७५ वटा बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेको जानकारी दिनुभयो । यस वर्ष सो सङ्ख्या बढाएर १ सय ८० पुर्याउने लक्ष राखिएको उहाँले बताउनुभयो ।
संघको हालको शेयर पुँजी ७ लाख ४३ हजार, बचत संकलन २ करोड १५ हजार ५१ लाख रहेको र कूल नाफा ४ लाख ९३ हजार रहेको कोषाध्यक्ष कूलबहादुर कार्कीले जानकारी दिनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थालाई संघको छातामा ल्याउन सुझाव दिनुभयो । संघमा आबद्ध संस्थालाई सक्रिय बनाउने भूमिका पनि संघले निर्वाह गर्नुपर्ने उहाँको सुझाव छ ।


प्रतिकृया दिनुहोस