• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

देशकाे अर्थतन्त्रमा सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री प्रचण्ड

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकाे अर्थतन्त्रमा सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने अवस्था रहेकाे बताउनुभएकाे छ ।

राष्ट्रिय व्यवसायिक पहलले बिहीबार काठमाडाैंमा आयाेजना गरेको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरेपनि व्यवहारमै देखा पर्नेगरी सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने देखिएको बताउनुभयाे ।

तथ्यांकले अर्थतन्त्रमा सुधारको अनुभूति गराए पनि जनतामा आशा नदेखिएको उहाँले बताउनुभयाे । 'तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ, तर व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा अगाडि विद्यमान छ, त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत् बैठक र केही नयाँ घोषण समेत गर्ने तयारी गरिरहेको छु, यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीबोध एवं तत्परता रहनेछ भन्ने विश्वास लिएको छु'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

अर्थतन्त्र सुधारका लागि आफूले निरन्तर प्रयास गरिरहेकाे समेत उहाँले दाबी गर्नुभयाे । 'यहाँहरू सबैलाई अवगत नै छ, अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले निरन्तर प्रयास गरिरहेको छु, केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन वृहत् अन्तरक्रिया गरेको छु, अन्तरक्रियापछि केही महत्वपूर्ण निष्कर्ष र घोषणाहरु समेत भएका छन्, विश्वास छ - उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

बुधबार मात्र आफूले शासकीय सुधारमा केन्द्रित भएर नेपाल सरकारका बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीकाे वृहत् गाेष्ठीकाे आयाेजना गरकाे जानकारी दिँदै उहाँले त्यसबाट केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएका बताउनुभयाे । शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सके त्यसकाे प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने विश्वास लिएकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

हालै युएईमा आयाेजित सम्मेलनमा आफूले नेपाललाई लगानीकाे गन्तव्य बनाउन आग्रह गरेकाे भन्दै उहाँले लगानीकाे वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे । 'उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु, यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको भन्दै उहाँले यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'जिम्मेवार व्यवसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट पनि महत्वपूर्ण छन्, व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्, जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्, मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ ।'

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा साथ र सहयाेग गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयाे ।

प्रतिकृया दिनुहोस