• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेप्सेमा दुर्गा प्रसाईंको आतंक सकियो, बढ्यो इन्डेक्स

सनराइज खबर संवाददाता

काठमाडौं । दुर्गा प्रसाईंले फैलाएको आतंकका कारण सुस्ताएको शेयर बजार अब उकालो लागेको छ । दुर्गा प्रसाईंको आन्दोलन सिनिक्क भएर समाप्त भएपछि शेयर बजारले राहतको शास फेरेको हो । 

आइतबार नेप्से इन्डेक्स  ४७ दशमलव ७५ अंकले बढेको छ । दुर्गा प्रसाईंले नेपालको वित्तीय क्षेत्र धराशायी पार्ने उद्देश्यसाथ बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्ने अभियान चलाउँदै आउनुभएको थियो । त्यस्तो अभियानको ‘क्लाइमेक्स’का रुपमा मंसिर ७ बाट जनआन्दोलन घोषणा गरिएको थियो । ७ गते जुलुस प्रदर्शन भए पनि त्यो जुलुसले आन्दोलनको रुप लिन सकेन । दुर्गाको आन्दोलन सिनिक्क भइसकेको छ । 

दुर्गाको आन्दोलन चर्किएर मुलुकको अर्थतन्त्र तहसनहस हुने हो कि भन्ने आशंका लगानीकर्ताहरुमा थियो । सोही मनोविज्ञानका कारण शेयर बजार ओरालो लागेको थियो । 

चर्चित लगानीकर्ता केशवप्रसाद कोइराला काकाले नेप्से इन्डेक्स दुई हजारभन्दा तल झर्दै नझर्नुपर्ने अवस्था हुँदा पनि डरको मनोविज्ञानका कारण झरेको बताउनुभएको छ । दुर्गा प्रसाईंकै कारण नेप्से इन्डेक्स ओरालो लागेको थियो भन्ने प्रष्ट भइसकेको छ । दुर्गाको आन्दोलन सिनिक्क हुनासाथ बजार उकालो लागेको हो । 

अहिले बजारमा तरलता पर्याप्त छ भने व्याजदर पनि घट्दो अवस्थामा छ । यस्तो बेला शेयर बजार स्वाभाविक रुपमा उकालो लाग्नुपर्ने थियो । उकालो लाग्नुपर्ने बजार ओरालो लाग्दै गएपछि लगानीकर्तामा ठूलो चिन्ता छाएको थियो । ‘दुर्गा प्रसाईं युटुबे अभियन्ता मात्र ठहरिए, उनले नेपालको वित्तीय क्षेत्र धराशायी पार्न सक्दैनन् भन्ने प्रष्ट भइसकेको छ, अब बजार उकालो लाग्छ,’ शेयर लगानीकर्ता युवराज गिरीको भनाई छ ।

नेप्सेमा सूचीकृत थोरै कम्पनीले मात्र लाभांश घोषणा गरेका छन्, अधिकांश कम्पनीले लाभांश घोषणा गर्न बाँकी नै छ । लाभांश सिजनको मुखमा जहिले पनि बजार बढ्ने गरेकोमा यस वर्ष मात्र दुर्गा प्रसाईंका कारण घटेको थियो ।

प्रतिकृया दिनुहोस