• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दुर्गा प्रसाईंका कारण बढ्न सकेन शेयर बजार

सनराइज खबर संवाददाता

 

काठमाडौं । दुर्गा प्रसाईंका कारण शेयर बजार उठ्न नसकेको विचार शेयर विष्लेशकहरुले राखेका छन् । ‘दुर्गा प्रसाईं नेपालको अर्थतन्त्र र शेयर बजार ध्वस्त पार्न लागिपरेका छन्, उनैका कारण शेयर बजार उठ्न नसकेको हो, दुर्गाकै कारण शेयर लगानीकर्ताहरु डुब्ने भए’– शेयर लगानीकर्ता विकास अधिकारीले बताए । 

दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति र आन्दोलनका कारण शेयर बजारबाट पूँजी पलायन भइरहेको विष्लेशकहरु बताउँछन् । प्रसाईंले मारवाडी समुदायलाई अनेक आरोप लगाइरहेका छन्, नेपालमा मारवाडीहरु असुरक्षित हुने अवस्था बनाइरहेका छन् । शेयर बजारमा ठूलो पूँजी लगाउने मारवाडीहरु नै छन् । दुर्गा प्रसाईंका कारण मारवाडीहरुले शेयर बजारमा लगानी गर्नुको साटो भएको लगानी पनि उठाएर बाहिरिन थालेको बताइन्छ । 

चर्चित लगानीकर्ता तथा शेयर विष्लेशक केशव कोइराला काकाले पनि दुर्गा प्रसाईंका कारण मारवाडी समुदायको पूँजी शेयर बजारबाट पलायन भइरहेको विचार राख्नुभएको छ । उहाँले एक अन्र्तवार्तामा नेप्से इन्डेक्स दुई हजारभन्दा तल आउनै नपर्ने र नसक्ने अवस्थामा दुर्गा प्रसाईंकै कारण बजार तल ओलिएको बताउनुभएको छ ।

नेपालमा पूँजी बजार, उद्यम व्यवसायमा मारवाडी समुदायको अग्रणी भूमिका रहेको छ । मारवाडी समुदायले लगानी नगरी शेयर बजार उठ्न नसक्ने धारणा कैयन विष्लेशकहरुको छ । दुर्गा प्रसाईंले नेपालको अर्थतन्त्र ध्वस्त पार्ने, बैंकिङ तथा वित्तिय क्षेत्र ध्वस्त पार्ने अभियान चलाइरहनुभएको छ । विभिन्न बैंकबाट आठ अर्ब हाराहारी ऋण लिएर नतिर्ने दुर्गा प्रसाईंले देशमा अराजकता र अस्थिरता सिर्जना गरेर ऋण नतिर्ने दाउ गरिरहेको आरोप लाग्दै आएको छ । दुर्गा प्रसाईंको यस्तै नियतका कारण देशमा राजनीतिक तथा वित्तिय प्रदूषण फैलिरहेको विचार शेयर लगानीकर्ता युवराज गिरीको छ । 

गिरी भन्नुहुन्छ– ‘दुर्गा प्रसाईंले २० लाख रुपैयाँ सम्मको ऋण मिनाहा गरिदिने भनेर अभियान चलाइरहनुभएको छ । २० लाख ऋण लिन करोडको धरौटी चाहिन्छ । करोडको धरौटी राख्ने क्षमता भएको मानिसको ऋण राज्यले किन मिनाहा गरिदिने ?’

गिरीका अनुसार अहिले नेप्से २५ सयको हाराहारीमा हुनुपर्ने हो । अहिले देशको अर्थतन्त्र सन्तोषजनक नभए पनि वित्तिय सुचकांकहरु सन्तोषजनक अवस्थामा छ, व्याजदर घटेको छ, यो अवस्थामा नेप्से सजिलै २५ सय अंकमा हुनुपर्ने हो तर दुर्गा प्रसाईंका कारण हुन सकेन भन्ने धारणा गिरीको छ । गिरीले भन्नुभयो– ‘दुर्गा प्रसाईंको अनर्गल प्रलापले लाखौं लगानीकर्ता फसेका छन्, यसको जिम्मेवारी दुर्गा प्रसाईंले लिन्छन् ?’

यसै बीच नौ दिनपछि सोमबार खुलेको सेयर बजारले झिनो अंकको मात्र वृद्धि पाएको छ । आज नेप्से ठूलो अंकले बढ्ने अपेक्षा गरिएको थियो तर दुर्गा प्रसाईंले मच्चाएको आतंककै कारण शेयर बजार उठ्न नसकेको शेयर विष्लेशकहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस