• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सहकारी सर्वसाधारणलाई ऋणमा डुबाउने होइन, ऋणबाट उकास्ने हुनुपर्छ : रत्नप्रसाद गौतम 

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता एवं समाजसेवी रत्नप्रसाद गौतम सहकारी संस्थाका सञ्चालक निस्वार्थ सामाजिक काममा खट्ने व्यक्ति हुनुपर्ने बताउनुभएको छ । 

शनिबार निलबाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नयाँबानेश्वरको दोस्रो वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै गौतमले सहकारीहरू सेवामूलक र सहयोगको भावना सहित सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी सर्वसाधारणलाई ऋणमा डुबाउने नभई उकास्ने खालका हुने पर्नेमा गौतमले जोड दिनुभयो । सहकारी सेवामूलक हिसाबले, सहयोगको भावनाले, अप्ठेरोमा परेका पीडित मानिसलाई राहत दिनको लागि, पैसा नहुने मानिसहरूको सहयोगी संस्था बन्नुपर्छ’, कार्यक्रमका प्रमुख अतिथि गौतमले भन्नुभयो । 

सहकारी संस्था सधैँ विधि र थिति अनुसार चल्नु पर्नेमा उहाँले जोड दिनुभयो । सेवामूलक काम गर्न सहकारी संस्थाले कोष स्थापना गरी अप्ठेरोमा परेकालाई सहयोग र सेवा गर्नु पर्ने उहाँले बताउनुभयो । संस्थाले ५० हजार रुपैँया छुट्याएर सुरु गरेको निलबाराही ग्राहक सुरक्षित कोषमा आफ्नो तर्फबाट २ लाख रुपैँया सहयोग गर्ने गौतमले घोषणा गर्नुभयो । 

सो कोषको सेवा लिन चाहने संस्थाका सदस्यले ५ हजार रुपैँया कोषमा जम्मा गर्नु पर्ने नियम सहकारीले बनाएको छ । सहकारी बाहिरकालाई कसरी सेवा दिन सकिन्छ भन्ने विषमा सोच बिचार गरी नियम बनाएर समस्यामा परेकालाई सेवा र सहयोग गर्ने वातावरण बनाउन उहाँले सुझाव दिनुभयो । बहुउद्देश्यीय सहकारी भएकोले संस्थालाई अप्ठेरो नपर्ने गरी समाजका हरेक क्षेत्रमा सेवाका काम गर्न गौतमले सहकारीलाई अनुरोध गर्नुभयो ।  

संस्थाका अध्यक्षता नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य कर्णशोभा गौतमले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव विशाल पौडेल संस्थाको प्रतिवेदन पेस गर्दै सो सहकारी संस्थामा हाल ३ सय ९५ जना सदस्य रहेको जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा दर्ता भएको सो संस्थाले यस वर्ष १ हजार जना सदस्य पुर्‍याउने लक्ष राखेको छ । 

साधारण सभामा कोषाध्यक्ष सुभद्रा चौलागाईंले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले पेस गर्नुभएको प्रतिवेदका अनुसार संस्थाको शेयर पुँजी २ करोड ९५ लाख रुपैँया पुगेको छ । त्यस्तै बचत ८ करोड ७१ लाख ७२ हजार र ऋण लगानी ९ करोड ८२ लाख रुपैँया रहेको छ । सहकारीले एक वर्ष भित्रमा संस्थाको शेयर पुँजी ५ करोड र बचत २० करोड माथि पुर्‍याउने लक्ष लिएको छ ।  

कार्यक्रममा संस्थाको लेखा समिति संयोजक नवीन चौलागाईंले नयाँ सकारीमा नयाँ प्रविधिको थप प्रयोग गर्दै अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं संस्थाकी शेयर सदस्य दीपा शर्मा, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल, बानेश्वर व्यापार संघ अध्यक्ष नवीन लुईँटेल, एएसजी आई केयर सेन्टर बानेनश्वर डा. दीपिका यादव, संस्थाका कानुनी सल्लाहकार नारायण खड्का, अधिवक्ता कल्पना भाट लगायतले सभा सफलताको शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा डा. यादवले संस्थाका शेयर सदस्यहरूको निःशुल्क आँखा जाँच गर्नुभएको थियो । सो क्रममा ६० जनाको निःशुल्क आँखा परीक्षण भएको सहकारीका कोमल ढुङ्गेलले जानकारी दिनुभयो । 

आजकै कार्यक्रममा शुभ सुधा डेण्टल केयर कोटेश्वर र सो सहकारी संस्था बिच सहकारीका सदस्यलाई छुटमा स्वास्थ्य सेवा प्रदान गर्ने दुई पक्षीय सम्झौता भएको छ । सो सहकारी संस्थाका सदस्यलाई ३० प्रतिशत छुटमा उपचार गर्ने दुई पक्ष बिच सम्झौतामा हस्ताक्षर भएको छ । 

निलबाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हाल मोबाइल बैँकिङ, रेमिटान्स, क्युरा पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा नै एटिएम सेवा सञ्चालनका साथै शाखा विस्तारको तयारीमा सहकारी रहेको छ । 

 

प्रतिकृया दिनुहोस