विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेशीय ट्रान्समिसन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
मंगलबार चितवनमा भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको दाबी गर्नुभयाे । यसका लागि सरकारले अन्तरदेशीय ट्रान्समिसन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएकाे उहाँकाे भनाइ थियाे ।
हालैको आफ्नाे भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको र बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
उहाँले आफ्नो आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो ।


प्रतिकृया दिनुहोस