प्रधानमन्त्री प्रचण्डले आज बूढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्दै
काठमाडाैं । १ हजार २ सय मेगावाटकाे बूढीगण्डकी जलविद्युत् आयोजनाकाे फिल्ड कार्यालय आज उद्घाटन हुने भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गाेरखामा साे आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लाग्नुभएकाे हाे । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागिएकाे हाे ।
आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असार ३१ गते काठमाडाैंमा कम्पनीको प्रधान कार्यालय उद्घाटन गर्नुभएको थियो । इकाइको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ ।
सरकारले आयोजना प्रभावितलाई अहिलेसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा छ ।
चालु आर्थिक वर्षको बजेटमा समेत यो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे प्रधानमन्त्रीत्वकालमा १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्ने घोषणा गर्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस