• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अजिव नेपाल : हुँदै नभएकाे वडालाई १० लाख रुपैयाँ !

सनराइज खबर संवाददाता

काठमाडाैं । हुँदै नभएकाे ठाउँमा पुल बनाएकाे त सुनिएकाे थियाे । हुँदै नभएकाे वडामा बजेट पठाउने काम गरेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नयाँ कीर्तिमान कायम गरेकाे छ ।

चितवनकाे माडी नगरपालिकामा हाल ९ वटा वडा छन् । तर प्रचण्ड सरकारले १० नम्बर वडाका लागि भनेर बजेट छुट्याएकाे छ । त्याे पनि कार्यक्रम नै ताेकेर । प्रचण्ड सरकारले संघबाट बजेट छुट्याउने क्रममा माडीकाे हुँदै नभएकाे १० नम्बर वडामा स्यालोट्युबेल जडानका लागि भनेर १० लाख रुपैयाँ विनियाेजन गरेकाे हाे ।

हुँदै नभएकाे वडाका लागि बजेट छुट्याउनुले अहिलेकाे सरकार कति असक्षम छ भन्ने कुराकाे पुष्टि गर्ने राष्ट्रिय सभा अध्यक्ष दिलकुमारी रावल पार्वतीले सनराइज खबरलाई बताउनुभयाे । 'बजेट निर्माणका लागि कानुनी संरचना छ, प्रधानमन्त्रीकाे अध्यताकाे अन्तरप्रदेश परिषद् छ, त्यहाँ प्रदेश र स्थानीय तहकाे प्रतिनिधि राखेर छलफल गर्नुपर्छ, आवश्यकता र औचित्यकाे आधारमा याेजना र बजेट निर्माण हुनुपर्ने हाे, तर संस्थागत संरचनाकाे प्रयाेग नै नगरी आफूखुशी बजेट हाल्ने काम भयाे, वडा नै नभएकाे ठाउँमा बजेट कसरी विनियाेजन भयाे ? सरकारकाे गम्भीर गल्ती हाे, जुन निकाय नै छैन त्यहाँ बजेट कसरी विनियाेजन भयाे ? याे विषय गम्भीर छ'- उहाँले भन्नुभयाे ।

बजेट निर्माण गर्ने बेलामा तीनै तहका सरकारबीच छलफल र बहस नभएकै कारण यस्ताे भएकाे सांसद् रावलले बताउनुभयाे । 'बजेट निर्माणका लागि, जुन हामीसँग कानुनी संरचना  छन्, तीनलाई बेवास्ता गरियाे, तहगत सरकारकाे बीचमा जुन छलफल र बहस हुनुपर्थ्याे त्याे पनि भएन, त्याे नभएकै परिणामस्वरुप बजेट विनियाेजन भयाे'-उहाँले भन्नुभयाे ।

साे विषयलाई नेकपा एमालेकी सांसद् रावलले असार २६ गते बसेकाे राष्ट्रिय सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्ने क्रममा पनि आपत्ति जनाउनुभएकाे थियाे । 'चितवनकाे माडी नगरपालिकामा ९ वटा वडा छ, तर सरकारले १० नम्बर वडाका लागि भनेर बजेट विनियाेजन गरेकाे छ, सिंचाइ मन्त्रालय अन्तर्गत स्यालोट्युबेल जडानका लागि १० लाख विनियाेजन भएकाे छ, भरतपुर-माडी राष्ट्रिय निकुञ्जकाे ९ किलाे सडकका लागि संघ सरकारले ५ लाखकाे याेजना छुट्याएकाे छ'- उहाँकाे भनाइ थियाे ।

हुँदै नभएकाे वडाका लागि कार्यक्रम नै ताेकेर बजेट छुट्याइएपछि आफूहरु अचम्ममा परेकाे माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले सनराइज खबरलाई बताउनुभयाे । 'बजेट जस्ताे संवेदनशील विषयमा संघ सरकार गम्भीर नहुनु दु:खद कुरा भएकाे हाे'- उहाँले भन्नुभयाे । संघ सरकारले कार्यविधि बनाएर पठाएपछि मात्र त्याे बजेट के गर्ने भन्ने कुरा आफूहरुले यकिन गर्ने मेयर महताेले बताउनुभयाे ।

२०७१ साल मंसिर १६ गते माडीका गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाविसलाई समाहित गरेर माडी नगरपालिका बनाइएको थियो । सुरुमा साे नगरपालिकाका ११ वडा सिफारिस गरिएको थियाे । तर सरकारले ९ वडा कायम गर्ने निर्णय गरेकाे थियाे ।

मेयर महताेका अनुसार नयाँ जनप्रतिनिधि आएसँगै माडीको बाँदरझुलालाई १० नम्बर वडा बनाउने बहस चलेपनि निर्णय भएकाे छैन । नगरपालिकाकाे पहिलो कार्यपालिका बैठकले बाँदरझुलालाई वडा नम्बर १० बनाउन संघ सरकारलाई सिफारिस गरिसकेकाे तर संघ सरकारले कुनै निर्णय गरिनसकेकाे मेयर महताेले बताउनुभयाे ।

चितवनकाे माडी मात्रै हाेइन काभ्रेपलाञ्चाेकमा पनि हुँदै नभएकाे वडालाई प्रचण्ड सरकारले बजेट छुट्याएकाे छ । साे विषयलाई लिएर एमाले सांसद् गाेकुल बास्काेटाले प्रतिनिधि सभा बैठकबाटै आपत्ति जनाउनुभएकाे थियाे ।

प्रतिपक्ष मात्र नभएर सत्तापक्षकै सांसद्हका कैयाैं असहमतिबीच पनि सरकारले बहुतकाे बलमा आर्थिक वर्ष २०८०-८१ काे बजेट संघीय संसद्का दुवै सदनबाट पारित गर्‍याे । साे बजेट नयाँ आर्थिक वर्ष अर्थात साेमबार साउ १ गतेदेखि कार्यान्वयनमा गइसकेकाे छ ।

प्रतिकृया दिनुहोस