• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बजेट कार्यान्वयन हुन्छ, आशंका गर्नुपर्दैन : अर्थमन्त्री महत

खबर स‌ंवाददाता

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आर्थिक वर्ष २०८०-०८१ को बजेट कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्नुभएकाे छ ।

अर्थ मन्त्रालयमा मंगलबार आयाेजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकतासाथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्नुभयो । 

बजेटका माध्यमबाट पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । राजस्व नीतिमा व्यापक सुधार गरेको दाबी गर्दै अर्थमन्त्री महतले कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी काम नगरेको दाबी गर्नुभयो ।

उहाँले सांसद् विकास कोष ब्युँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याईएको भन्दै बचाउ समेत गर्नुभयाे ।संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसद्हरूको भूमिका आयोजना छनौट गर्ने मात्रै भएको मन्त्री महतकाे दाबी छ । आफ्नो क्षेत्रमा आवश्यक आयोजनाबारे सांसद्हरुलाई नै बढी जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको दाबी पनि उहाँले गर्नुभयाे ।

नीतिका व्यवस्था कार्यान्वयनमा समन्वय हुने गरी मौद्रिक नीति आउने जानकारी मन्त्री महतले दिनुभयो । बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको भन्दै  उहाँले व्यवस्थित गर्न मात्रै खोजिएको दाबी गर्नुभयाे । सरकार बिजुली गाडीलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यहीअनुसार सरकारले बजेट ल्याएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस