अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छाैं, सकारात्मक सन्देश दिन्छौं : अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकाे अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँग आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व संकलन कम भएकाे बताउनुभयाे ।
यस्ताे अवस्थामा अर्थतन्त्रमा देखिएका समस्यालाई सुधार गरेर नै अघि बढ्नुपर्ने भन्दै उहाँले सरकारले राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताउनुभयाे ।
देशकाे अर्थतन्त्रमा चाँडै नै सकारात्मक परिवेश सिर्जना हुने दाबी गर्दै अर्थमन्त्री महतले भन्नुभयाे - 'अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ ।'
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रिक नीतिमा ध्यान दिइने अर्थमन्त्री महतले बताउनुभयो ।साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चिति अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको उहाँले बताउनुभयाे ।
साधारण खर्चलाई कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको मन्त्री महतले सुनाउनुभयाे । सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई भने चाहेर पनि कम गर्न नसक्ने उहाँले दाबी गर्नुभयाे ।
अर्थमन्त्री महतले बजेट आउन थोरै समय बाँकी रहेका बेला सरोकारवाला सबै निकायसँग छलफल गरेर काम गर्ने बताउनुभयाे । स्वदेशी र वैदेशिक लगानीको वातावरण बनाउँदै आम्दानीको दायरालाई बढाउने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस