देश आर्थिक संकटतर्फ धकेलिँदैछ, प्रधानमन्त्रीबाट आश्वासन मात्रै आउँछ : केपी ओली
काठमाडाैं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले मुलुक आर्थिक संकटतर्फ धकेलिएकाे बताउनुभएकाे छ ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थामा पुग्दा पनि सरकार ढुक्क भएर बसेकाे बताउनुभयाे ।
उहाँले कर्मचारीलाई तलब खुवाउन समेत गाह्राे परिरहेकाे बेला सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र राम्राे छ भन्दै आश्वासन मात्र बाँडेकाे बताउनुभयाे ।
अध्यक्ष ओलीले अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेका बेला र बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला सरकारले भने ठिक छ भन्दै जनता ढाँट्दै गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकारलाई कुनै चिन्ता छैन, सरकार ढुक्क छ, भन्छ - अर्थतन्त्र राम्रो छ, प्रधानमन्त्रीज्यू तपाइँहरुकाे बीचमा आएर बोल्नु भएहोला, ढुक्क, आराम, आनन्द, प्रसन्न चित्त हुनुहुन्छ उहाँ, केही पनि छैन, भन्नुपर्दा उहाँले केही बाँकी राख्नुहुन्न, तारा झारिदेऊ न भन्यो भने त्यो मात्रै होइन जून पनि झारिदिउँला भन्नुहुन्छ, उहाँबाट आश्वासनको वर्षा हुन्छ ।'
एमालेले सरकारकाे नेतृत्व गर्दा देशकाे अर्थतन्त्र सही दिशामा रहेकाे र अहिलेकाे गठबन्धन सरकारमा आएसँगै अर्थतन्त्र ध्वस्त भएकाे बताउनुभयाे । एमाले सरकारमा छँदा सबै गर्न पैसा हुने भएपनि अहिलेकाे गठबन्धनवालाहरु हुँदा पैसै नहुने समेत उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्रलाई माथि उठाउन सहकारीकाे भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने बताउनुभयाे । सहकारीलाई बदनाम हुनबाट जाेगाउन समेत अध्यक्ष ओलीले सुझाव दिनुभयाे ।


प्रतिकृया दिनुहोस