• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सहकारी महासम्मेलन चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालका सहकारीहरूको महासम्मेलन आउने चैत २३ गतेदेखि काठमाडौंमा हुने भएको छ । 

देशभरिका सहकारी कर्मीको सहभागिता हुने महासम्मेलन चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा हुने राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेलले जानकारी दिनुभयो । 

सहकारी अभियानले हासिल गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै भावी कार्यदिशा निर्दिष्ट गर्न महासम्मेलन आयोजना गर्न लागेको अध्यक्ष कँडेलले बताउनुभयो । महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको अध्यक्ष कँडेलले जानकारी  दिनुभयाे । 

कोभिड १९ महामारी र रुस युक्रेनबिचको युद्धका कारण आपूर्ति श्रृखलामा अवरोध सिर्जना हुनाले विश्व अर्थतन्त्रका साथै नेपालको समग्र अर्थतन्त्रमा सङ्कुचन आई सोको असर सहकारी क्षेत्रमा परेको सन्दर्भमा सहकारी अभियानलाई दिगो एवं मर्यादित बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोत व्यक्तिबाट कार्यपत्र प्रस्तुति तथा बृहत् छलफलमार्फत अभियानको भावी कार्यदिशा निर्दिष्ट गर्न ‘सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन’ भन्ने मूल नाराका साथ आगामी चैत्र २३ गतेदेखि २५ गतेसम्म तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको आयोजना गर्न लागिएको अध्यक्ष कँडेलले बताउनुभयो । 

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा २०७१ सालमा प्रथम राष्ट्रिय सहकारी महासम्मेलन र २०७४ सालमा दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन भएको थियो । मुलुकको करिब एक चौथाइ जनसंख्या आबद्ध भएको सहकारी क्षेत्रले दूर दराजका आम समुदायको वित्तीय पहुँच अभिवृद्धि, उद्यमशीलताको विकासमार्फत स्वरोजगार सिर्जना, गरिबी न्यूनीकरण, सामाजिक पुँजी निर्माण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको क‌ंडेलले बताउनुभयाे । संविधानले समेत सार्वजनिक तथा निजी सहित सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाको रूपमा स्वीकार गरेको महासंघले स्मरण गराएको छ । 

कार्यक्रममा सहभागिताका लागि आवश्यक प्रक्रिया पूरा गरी रजिष्ट्रेशन गर्नुपर्ने महासंघले जनाएको छ ।  

प्रतिकृया दिनुहोस