कृषिमा मेसिनको प्रयोग बढेपछि बेरोजगार बनायो, आचार उद्योगले उद्यमी बनायो
झापा । झापाको गौरादहमा रहेको महारानीझोडा साना किसान सहकारी संस्थाले चक्ला बन्दी खेती र खेतीमा मेसिनको प्रयोग भित्र्याएपछि कृषिमा हाते कामको काम घट्यो ।
गह्रा खन्ने, सम्म्याउने काम मेसिनबाटै भयो । धान, मकै रोप्ने काम मेसिनले नै गर्न लाग्यो । धान, गहुँ काट्ने र चुट्ने काम पनि मेसिनले नै गर्न लाग्यो । सहकारीका सदस्यलाई मेसिनबाट काम गराउँदा छिटो काम त हुन लाग्यो तर काम गरेर खाने सदस्यहरूको काम खोसियो । खेतीपातीमा खट्ने सदस्यहरूको समय पनि उब्रियो । मेसिन लगाउँदा खर्च पनि बढ्यो ।
सदस्यहरूलाई वैकल्पिक काम के दिन सकिन्छ भनेर सहकारी सोच्यो । त्यसपछि कोही सदस्य च्याउ खेतीमा लागे, कोही पशुपालन, कोही दूधजन्य बस्तु उत्पादनको काममा लाग्नुभयो । ६ जना महिलाहरू भने अचार उद्योगमा लाग्नुभयो ।
महिलाहरू सुरु गरेको गौरादहको अचार अहिले झापा जिल्लामा मात्र होइन देश विदेश पुगेको छ । सो सहकारीले प्रवर्धन गरेको नमुना एकीकृत सहकारी समूह मार्फत महिलाहरूले नमुना अचार उद्योग स्थापना गरेर देश विदेशमा अचार पुर्याएका सहकारीकी अध्यक्ष मिना ढकालले बताउनुभयो ।
सो उद्योगले वार्षिक २० लाख बढीको अचार उत्पादन गरेर बजारमा पुर्याउने उद्योगकी सञ्चालक मुना दाहालले बताउनुभयो । ‘सिजन अनुसारको आँप, कागती, खुर्सानी लगायतका विभिन्न थरीका अचार उत्पादन गर्छौ, हाम्रो उत्पादन झापा मात्र होइन कोठमाडौं लगायतका सहर र भारतका साथै अन्य विदेशी मुलुकमा पनि पुग्छ’, दाहालले भन्नुभयो ।
अचार उद्योगमा मुनासँगै स्थानीय शकुन्तला प्याकुरेल, सीमा नेपाली, गङ्गा चापागाईँ, भूमिका खतिवडा, सेवका आचार्य संलग्न हुनुहुन्छ । उहाँहरू घरको कामबाट बचेको समय निकालेर उद्योगमा काम गर्नुहुन्छ । उद्योगमा काम गरेको घण्टाको ५० रुपैँया पारिश्रमिक लिनुहुन्छ । वर्षभरिको नफा पुनः हिसाब गरेर उद्योगमा थप लागिन गर्ने वा नाफा बाँड्ने निर्णय गर्नुहुन्छ ।
हिजो कृषक र घरायसी काममा दिन बिताउनु हुने महिलाहरू आज उद्योगपति बन्नुभएको छ ।



प्रतिकृया दिनुहोस