सहारा नेपालको दशौँ विस्तारित भेला
झापा । झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौँ विस्तारित भेला सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्ष र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरीको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, सल्लाहकार एवं पूर्व मन्त्री कमलप्रसाद चौलागाईं, कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैँकका अध्यक्ष केबी उप्रेती, नेपाल पर्यटन केन्द्रिय सहकारी संघका लेखा संयोजक तेजबहादुर बोहरा, विभिन्न सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, सो सहकारीका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाको आगामी कार्यदिशा बनाउन भेला आयोजना गरिएको संस्थाका सदस्य सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले सहकारीको समग्र वित्तीय अवस्था र हालसम्म गरेको कामको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।
गिरीले संस्थाको शेयर पुँजी यस आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ६३ करोड ४९ लाख ८४ हजार ४ सय पुगेको जानकारी दिनुभयो । संस्थाको बचत रकम १० अर्ब ५३ करोड १७ लाख २९ हजार १३ रहेको गिरीले बताउनुभयो । ६ महिनाको अवधिमा संस्थाले २६ करोड ५१ लाख ७६ हजार ८ सय ७२ रुपैँया नाफा कमाएको उहाँले बताउनुभयो । सहकारीमा हाल १ लाख ६० हजार बढी सदस्य छन् । ८० बढी शाखाबाट सेवा प्रवाह गरिरहेको छ ।
सहकारीले ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, कृषि तथा पशु व्यवसाय प्रवर्धन, ज्येष्ठ सदस्य सम्मान, सामाजिक सुरक्षा लगायतका काम गरिआएको बताउँदै गिरीले यसलाई अझ प्रभाकारी रूपमा सञ्चालन गर्ने बताउनुभयो । सदस्यहरूलाई विद्युतीय चुलो वितरण, घर विहीनलाई आवास निर्माण, अभिभावकविहीनलाई संरक्षण र पालनपोषण, स्वास्थ्य बिमा, एम्बुलेन्स प्रदान लगायतका काम गर्दै आएको र यसलाई अझ राम्रो गर्दै लैजाने उहाँले बताउनुभयो ।
कार्यक्रमका वक्ताले सहारा सबैको सहारा भएको बताउँदै सहाराको कामलाई अन्यत्र पनि लैजानु पर्ने बताउनुभयो । सदस्यलाई थप सेवा प्रदान गर्दै लैजान उहाँहरूले संस्थालाई सुझाव दिनुभयो ।


प्रतिकृया दिनुहोस