टुटल र पठाओलाई सरकारले यसरी पेल्न थाल्याे, संसदीय समितिले हस्तक्षेप गर्ने
काठमाडाैं । टुटल र पठाओलाई सरकारले कारबाही थालेकाे छ । ती सेवा प्रदायकका माेटरसाइकल चालकलाई कानुन विपरित यात्रु बाेकेकाे भन्दै ट्राफिक प्रहरीले कारवाही थालेकाे हाे ।
यातायात व्यवस्था विभागले गत बुधवार सार्वजनिक सूचना जारी गरेर कालाे प्लेट बाहेक राताे प्लेटले यात्रु बाेक्न नपाउने, त्यसरी बाेकेकाे पाइएमा कारवाही गर्ने भनेकाे थियाे । त्यही अाधारमा टुटल र पठाअाेका माेटरसाइकल चालक कारवाहीमा पर्न थालेका हुन् ।
टुटल र पठाअाेमा काठमाडाैं उपत्यकामा ५० हजार भन्दा धेरै माेटरसाइकल चालक अावद्ध भएकाे अाकलन गरिएकाे छ । पछिल्लाे समय थपिएकाे सररमा पनि राम्रै संख्यामा माेटरसाइकल चालक अावद्ध भएकाे बताइन्छ ।
यी सेवा प्रदायकका सेवा उपत्यकामा दैनिक हजाराैंले प्रयाेग गरिरहेका छन् । कानुन अनुसार माेटरसाइकलले यात्रु अाेसार्न पाउँदैन । तर, विश्वव्यापी रुपमा शेयर राइडिङ सेवा लाेकप्रिय बनिरहेकाे छ । कानुन संशाेधन गरेर भए पनि याे सेवालाई निरन्तरता दिनुपर्ने अावाज जनस्तरमा उठिरहेकाे छ ।
समितिमा छलफल हुन्छ
निकै ठूलाे चर्चा, बहस र विवादकाे विषय बनेकाे शेयर राइडिङ सेवाका बारेमा छलफल हुनुपर्ने र गाँठाे फुकाउने ठाउँ हाे प्रतिनिधि सभाकाे विकास तथा प्रविधि समिति । याे समितिले शेयर राइडिङ सेवाका बारेमा छलफल गरे कसाे हाेला ? हामीले याे कुरा राख्याैं विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्कासँग । उनले भनिन्– ‘यातायात व्यवस्था विभागको सूचनाले समस्या ल्याएको छ भन्ने हामीलाई जानकारी छ, यस विषयमा मन्त्रालयलाई वोलाएर हामी सोध्छौ ।’
कहिले साेध्ने त ? कहिले छलफल गर्ने त ? याे विषयमा कल्याणीले भनिन्- ‘यस विषयमा हामी उपचुनाव पछि छलफल गर्छाैं, अहिले सबै साथीहरु उपचुनावमा व्यस्त हुन्नुहुन्छ, छलफलका लागि कोरम नै पुग्दैन ।’ उनी थप्छिन्– 'सम्बन्धित निकाय समस्या समाधान तर्फ लागेन भने हामी समितिमा छलफल अघि बढाउँछौं र निकास दिन्छाैं ।’
चुप छ यातायात मन्त्रालय
समाजमा व्यापक बहसकाे विषय बनिसकेकाे र जनताकाे दैनिकीसँग गासिएकाे यस्ताे विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने माैन छ। विभागले सूचना सार्वजनिक गरी टुटल र पठाओलाई कारबाही प्रक्रिया अघि बढाइसक्दा पनि मन्त्रालयल भने माैन बसेकाे हाे ।
मन्त्रालयका सहसचिव देवेन्द्र कार्कीले सनराइज खबरसँग भने –‘विभागले आफनो नियम कानुन र कार्यक्षेत्र भित्र रहेर रहेर काम गरेको हो, यस विषयमा हामीलाई थाहा छैन ।’
ट्राफिक प्रहरीकाे यस्ताे भनाई
नियम उल्लङघन गर्नेलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तपाईहरुले टुटल र पठाओलाई कारबाही थाल्नुभएछ नि ? भन्ने सनराइज खवरको प्रश्नमा महाशाखाका एसएसपी भिम प्रसाद ढकालले भने – 'ट्राफिक नियम उल्ङघन गर्ने सबैलाई हामी कारबाही गर्छौ, त्यो अन्य सवारी सधान हुन वा टुटल पठाओ । ’
के भन्छन् सञ्चालक
समयसापेक्ष कानुन परिमार्जन गर्दै लैजानुपर्ने अवस्थामा उल्टै निरुत्साहित गर्ने उद्देश्यले कारवाही थाल्नु ठिक नभएको बताउँछन् टुटल र पठाअाेका सञ्चालकहरु ।
टुटलका सञ्चालक शिक्षित भट्ट भन्छन् – 'आइतवार स्वयम्भुबाट यात्रु चढाउने क्रममा ट्राफिक प्रहरीले एक टुटल चालकलाई चिट काटेको हो, चालक विकास तामाङलाई प्रयोजन विपरीत सवारी चलाएको भन्दै एक हजार रुपैयाँको जरीवाना गर्ने चिट काटिएकाे छ ।’
'हामी कारबाहीमा पर्न थालिसकेका छौ, हिजो एक जना राइडरलाई कारबाही गरियाे । अझै कतिजनालाई कारबाही गरिने हाे थाहा छैन'– उनी भन्छन्– ‘सरकारले पेलेरै जान खोजेको देखिन्छ, तर हामीले सेवा बन्द भने गरेका छैनाैं ।’


प्रतिकृया दिनुहोस