महिलाहरूले मात्रै सञ्चालन गरेको सहकारी संस्थाको १६ वार्षिक साधारण सभा
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा महिलाहरूले मात्र सञ्चालन गरेको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सदरमुकाम मन्थलीमा मन्थली नगर पालिकाकी उप प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सो सहकारीको संस्थागत विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । सदरमुकामको महिलाले सञ्चालन गरेको एक मात्र सो सहकारीलाई सृजनशीलता र सिपमा जोडेर महिलाहरूलाई स्वआर्जन तर्फ उन्मुख गराउनुपर्नेमा उहाँले जोड दिनुभयो
सहकारीकी अध्यक्ष सविता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, लगायतले साधारण सभाको सफलताको कामना व्यक्त गर्नुभएको थियो । साधारण सभाले सचिव कल्पना सत्यालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष यशोदा घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक पार्वती पाठकले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
२०६९ सालमा २५ जना महिलाले सुरु गरेको सो सहकारीमा हाल ३ सय ३१ जना शेयर सदस्य रहेका छन् । सहकारीले यस वर्ष कूल १ लाख ४१ हजार ३ सय रुपैँया मुनाफा कमाएका कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कूल निक्षेप ४६ लाख ५० हजार ९ सय ७८ रुपैँया र कुल लगानी ४० लाख १५ हजार रुपैँया रहेको छ ।
साधारण सभामा संस्थागत विकासमा सहयोग पुर्याउने संस्थापक अध्यक्ष कविता सुवेदी, संस्थापक उपाध्यक्ष कोपिला घिमिरे र ज्येष्ठ सदस्य मध्यबाट बद्रीका भुजेललाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।


प्रतिकृया दिनुहोस