नवजागरण बचतको एक वर्षमा एक करोड ३२ लाख बढी नाफा
काठमाडौं । रामेछापका मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा एक करोड ३२ लाख रुपैँया भन्दा बढी नाफा कमाएको छ ।
सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा सो नाफा कमाएको हो । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा संस्थाले एक वर्षमा एक करोड ५७ लाख २६ हजार ३ सय ८२ रुपैँया नाफा कमाएकोमा राज्यलाई कर तिरेर एक करोड ३२ लाख ३४ हजार ६९ रुपैँया खुद नाफा बचेको छ ।
सो संस्थाको शेयर पुँजी हाल ४ करोड ५५ लाख ९९ हजार ५ सय रुपैँया पुगेको छ । त्यस्तै बचत रकम ३९ करोड ९९ लाख ७ हजार ९२ रुपैँया पुगेको छ । सहकारीको ऋण लगानी ३९ करोड १४ लाख १२ रुपैँया छ ।
कार्यक्रममा सहकारीका सचिव सोमेश थापाले आउने आर्थिक वर्षमा सहकारीका शेयर सदस्य १० हजार पुर्याउने लक्ष प्रस्तुत गर्नुभयो । हाल सो सहकारीमा ७ हजार ७ सय ७० शेयर सदस्य छन् ।
त्यस्तै संस्थाको चुक्ता शेयर पुँजी ६ करोड ४३ लाख ५० हजार, बचत रकम ५२ करोड ४१ लाख र ऋण लगानी ५१ करोड ४८ लाख रुपैँया पुर्याउने लक्ष राखिएको छ ।
साधारण सभामा असल शेयर सदस्य ३० जना र चार जना ज्येष्ठ शेयर सदस्यलाई सम्मानित गरिएको छ । ३६ जना सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको साधारण सभा मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले स्थानीय समुदायको आर्थिक विकासमा सहकारीका महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।


प्रतिकृया दिनुहोस