सेयर बजारबारे बेलैमा जानकारी नदिएकोमा प्रम ओली असन्तुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारको वर्तमान अवस्थाका बारेमा अहिलेसम्म जानकारी नगराएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
मंगलबार नेपाल पूँजीबजार लगानीकर्ता संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सेयरबजारको अवस्थाको बारेमा प्रतिप्रश्न गरेका हुन् । उनले अब यो विषयमा छलफल गर्न सरोकारवालालाई बोलाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई विगत लामो समयदेखि सेयर बजारका बारेमा बताउँदा पनि सुनुवाई नभएकोले प्रधानमन्त्रीलाई यो विषयमा जानकारी गराएको लगानीकर्ता संघले जनाएको छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा सेयर बजार सुधारका लागि १४ बुँदे सुझावसमेत पेश गरेको बताइएको छ ।
प्रधानमन्त्रीलाई बुझाइएको १४ बुँदे सेयर बजार सुधारका सुझाव :
१) सेयर कर्जामा हाल जारी चर्को बैंक ब्याज घटाइनुपर्छ ।
२) सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ८० प्रतिशत बनाउनु पर्छ ।
३) सबै लगानीकर्ताको हातमा सर्वसुलभ तरिकाले अनलाइन प्रणाली विस्तार गर्नुपर्छ ।
४) आरडब्लूएसलाई अझ व्यापक बनाइनुपर्छ ।
५) सेयर शिक्षा तथा चेतनाका कार्यक्रमहरु देशव्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्छ ।
६) बजेटमार्फत् गैरआवासीय नेपाली संघलाई नेपालको पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ । त्यसलाई यथासक्य छिटो कार्यान्वायनमा ल्याइनुपर्छ ।
७) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुटको व्यवस्था गर्नुपर्छ ।
८) पूँजीबजारमा अधिक आपूर्ति व्यवस्थापन गर्ने संयन्त्र भएन । त्यसैले बजामा रहेका ठूला कोषहरु (जस्तैः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सैनिक कल्याणकारी कोष) हरुलाई बजार निर्माताका रुपमा भित्र्याउने व्यवस्था गर्नुपर्छ ।
९) समयमा वार्षिक साधारण सभा नगर्ने कम्पनीका सञ्चालकहरुलाई ऐन नै संशोधन गरी कडा जरिवानाको व्यवस्था गर्नुपर्छ ।
१०) बैंकहरूले लगानी योग्य पूँजी अभावको कृत्रिम त्रास देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।
११) तरलता सहज व्यवस्थापन गर्न बैंकहरुको सीसीडी रेसियो ८५ प्रतिशत पुर्याउनुपर्छ ।
१२) वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ०७७ असार मसान्त सम्मका लागि मात्रै भए पनि कम्तिमा ५५ क्रस होल्डिङको व्यवस्था गरिनुपर्छ ।
१३) सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितता गर्नुपर्छ ।
१४) बैंकहरुमा जस्तै लघुवित्तलाई समेत मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ ।


प्रतिकृया दिनुहोस