• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

६५ अर्बको इन्धन आयात

समाचार

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ । गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६ सय ९० लिटर इन्धन बढी आयात भएको हो ।

पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष ०७७/८७ को साउनदेखि पुससम्मको ६ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख आठ सय ३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार पाँच सय २५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ ।

 यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

 उहाँले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार दुई सय ८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केल डिजल, सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केल पेट्रोल, एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार एक सय १२ केल हवाई इन्धन र २४ करोड ६६ लाखको छ हजार १४० केल मट्टितेल आयात भएको थियो । 

चालू आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको ६ लाख १४ हजार ३४८ केल डिजल, १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केल पेट्रोल, चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केल हवाई इन्धन र ३४ करोड ३७ लाखको चार हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।

उहाँले गत वर्ष इन्धन आयातबाट रु २४ अर्ब ९७ करोड ७८ लाख राजस्व संकलन भएको थियो भने चालू आवको ६ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ संकलन भएको बताउनुभयो । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको  छ ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा सात अर्ब ४९ करोड ४८ लाख मूल्यको एक लाख १९ हजार सात सय मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाख रुपैयाँको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस