• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

वाग्मती प्रदेश बचत संघले पहिलो दिनमै संकलन गर्‍यो ७० करोड निक्षेप

सनराइज खबर

काठमाडौं । वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघले कारोबार सुरु गरेको पहिलो दिनमा नै ७० करोड रुपैँया निक्षेप संकलन गरेको छ ।  

बिहीबार कारोबार सुरु गरेको पहिलो दिनमा नै संघले सो निक्षेप संकलन गरेको हो । काभ्रेको बनेपामा कार्यालय स्थापना गरी संघले बिहीबारबाट निक्षेप संकलन सुरु गरेको छ ।

कार्यालयको उद्घाटन संघका अध्यक्ष उद्धव सापकोटाले गर्नुभएको थियो । कार्यालय स्थापना भएकै दिन संघमा ७० करोड रुपैँया निक्षेप संकलन भएको छ । विभिन्न सदस्य संस्थाबाट उक्त निक्षेप संकलन भएको हो ।

संघले कारोबार सुरु गरेकै दिन विभिन्न सदस्य संस्थालाई ३५ करोड रुपैँया लगानी गरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संघको सेयर पूँजी १ करोड संकलन भएको पनि सापकोटाले बताउनुभयो । संघमा काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै ४० करोड  रुपैँया संकलन भएको छ ।

संघमा १ सय ७० सहकारी संघ र संस्था आवद्ध छन् । संघीय राजधानी काठमाडौंमा कर्पाेरेट कार्यालय र वाग्मती प्रदेशको राजधानी मकवानपुरमा सम्पर्क कार्यालय राख्ने गरी बनेपामा कार्यालय शुभारम्भ गरिएको हो ।

कार्यालय र कारोबार शुभारम्भ गर्दै अध्यक्ष सापकोटाले सदस्यको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालनमा संघले भूमिका खेल्ने बताउनुभयो ।  

 

प्रतिकृया दिनुहोस